बिर्तामोड । स्थानीय तह गठन भएसँगै जिल्लाका सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान जान थालेको छ । भौतिक संरचना निर्माणसँगै सामुदायिक शिक्षा सुधारको सुरुवात हुन थालेको छ ।

यसै क्रममा बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालयले सुविधासम्पन्न पूर्वाधार निर्माण गर्न थालेको छ । विद्यालयको भौतिक र व्यवस्थापनमा देखिएको परिवर्तनले बालबालिका र अभिभावकमा उत्साह थपिएको छ । गत वर्षसम्म स्कुलको खेलमैदान स्थानीय किसानको गौचरनको रूपमा रहेको थियो ।

कम्पाउण्ड वाल नभएकाले कक्षा सञ्चालन भइरहेको समयमा स्थानीयले गाईवस्तु चराउने, बाहिरी मानिसहरू चौरबाटै आवत–जावत गर्ने, गाडी, मोटरसाइकल कुदाउने तथा सिक्नेजस्ता क्रियाकलाप हुने गरेका थिए । जसले बालबालिकालाई खेल्ने र मनोरञ्जन गर्ने ठाउँको अभाव हुने गरेको थियो ।

कोरोना सङ्क्रमणका कारण भइरहेको लकडाउनको समयलाई विद्यालय प्रशासनले सदुपयोग गर्दै एक बिगाहा क्षेत्रफलमा रहेको खेलमैदान घेराबारा गरेको छ । वडा कार्यालयमार्फत् नगरपालिकाले १४ लाख रुपैयाँ प्रदान गरेपछि विद्यालयको भौतिक संरचना निर्माण सुरु गरिएको हो । सो रकमले घेराबारा र गेट निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

‘घेराबारा नहुँदा चौरमा गुट्खा, चाउचाउ, चक्लेटका खोल भेटिन्थे । त्यहाँ हि“ड्न र कुनै गतिविधि गर्न गाह्रो थियो । गाईवस्तुका गोबरमा बालबालिका चिप्लिएर लड्ने गर्थे । अहिले घाँस उम्रिएको छ, स्थानीयले काटेर पनि लैजाने गरेका छन्, वातावरणमा हरियालीपन छाएको छ’– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेलले भने । अस्तिसम्म बालबालिका असुरक्षित थिए भने अहिले व्यवस्थापन गर्न पाएकोले केही सुरक्षित हुने महसुस भएको अध्यक्ष पौडेलको विश्वास छ ।

विद्यालयमा बिर्तामोड नगरपालिकाको १६ लाख र आन्तरिक स्रोतबाट ८ लाख रुपैयाँको लागतमा २ कोठे आधुनिक भवन पनि निर्माण सम्पन्न भएको छ । उक्त भवनमा फराकिलो एवम् सुविधा सम्पन्न शौचालय बनाइएकाले सरसफाइमा अब थप सहज हुने विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।

टिफिनको समयमा एक हजारभन्दा बढी विद्यार्थीलाई सानो शौचालय प्रयोगमा समस्या हुने गरेकाले नयाँ निर्माण गरिएको प्रधानाध्यापक अधिकारीको भनाइ छ । उनले भने, ‘रजस्वला भएको समयमा छात्राहरूलाई सेनिटरी प्याड फेर्नसमेत गाह्रो थियो, अब उनीहरूका लागि विशेष कक्ष निर्माणको कार्य भइरहेको छ ।’