धरान । धरान नगर बाल सञ्जाल तथा ६ नम्बर वडा बाल सञ्जालको आयोजनामा आजबाट बालबालिका लक्षित ‘क्षमता अभिवृद्धि तथा जीवनवृत्ति परामर्श’ कार्यक्रम सुरु हुँदै छ ।

कार्यक्रमको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्दै छन् । दश दिनसम्म चल्ने कार्यक्रम दैनिक एक घण्टा बिहान ८ बजेदेखि ९ बजेसम्म हुँदै छ । कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरूले परामर्श दिइरहेका छन् ।

आयोजकका अनुसार सामाजिक विकास मन्त्री घिमिरेसहित मनोक्रान्तिका डा. योगी विकासानन्द, राष्ट्रिय आविश्कार केन्द्रका प्रमुख महावीर पुन, यशोधरा ओशोधरा नेपाल प्रमुख आचार्य महेन्द्र भट्टराई, नरदेवी आयुर्वेद चिकित्सालयका डा. प्रदीप केसी, नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ र बाल रोग विशेषज्ञ डाक्टर प्रदीप पौडेल छन् ।

बाल सञ्जालले राष्ट्रिय बाल दिवसको क्रममा यस वर्ष कोरोना महामारीका कारण बालबालिकामा परेको मनोवैज्ञानिक असरलाई कम गर्न यस्तो कार्यक्रम गरिएको ६ नम्बर वडाका सचिव तुलसी आचार्यले जानकारी दिए ।

यस वर्ष ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ नारा तय गरिएको छ । बालबालिकालाई ‘ध्यान, उत्प्रेरणा र परामर्श’ दिइने भएको हो । जुम प्रविधिमार्फत बालबालिकाहरूलाई विभिन्न वक्ताहरूले परामर्श गर्ने कार्यक्रम रहेको छ ।