धरान । धरान–२० विष्णुपादुकास्थित भालढुंगा सामुदायिक वनभित्र काँचो सखुवाको रुख काटिएको विषयमा समूहका चार जना पदाधिकारीहरूसँग बयान लिइएको छ ।

सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख एमव् अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले समूहका प्रमुख पदाधिकारीहरूसँग बयान लिइएको जानकारी दिए । उनका अनुसार समूहका अध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष चन्द्रकला राई, सचिव रीता राई र कोषाध्इक्ष भूवनसिंह राईलाई बयान लिइएको हो ।

भदौ १३ गते वनको काँचो रुख काटिएको विषयमा कोषाध्यक्ष भीम बस्नेले ‘आफूले नै कटान गरेको भनी’ वन कार्यालयमा स्वीकार गरेका थिए । समूहका पदाधिकारीहरूलाई वन कार्यालयले भदौ १७ गते तीन दिनभित्र लिखित जवाफ पठाउनका लागि पत्राचार गरेको थियो ।

सोही पत्राचारअनुसार भदौ २१ गते अध्यक्ष तामाङबाहेकका अन्य पदाधिकारीहरूले ‘रुख कटानका विषयमा आफूहरूलाई कुनै जानकारी नभएको’ प्रत्यूत्तर दिएका थिए भने अध्यक्ष तामाङले धरान नगर प्रमुख तिलक राईको निर्देशन तथा कोषाध्यक्ष भीम बस्नेतको रहोबरमा रुख काटिएको सत्य भएको भन्दै जवाफ दिएका थिए ।

घटनामा सुरुदेखि नै नगर प्रमुख राई विवादमा तानिँदै आएका छन् । वन कार्यालयले समूहका अन्य चार जना सदस्यहरूसँग पनि बयान लिने क्रम जारी रहेको जनाएको छ । ‘समूहका सदस्यसँग पनि चाँडै बयान लिने क्रममा छौं,’ अधिकृत यादवले भने, ‘अब यो मुद्दा चाँडै सक्छौ ।’ उनले बयान के दिए भन्ने विषयमा अनुसन्धानको पाटो भएकाले खुलाउन नमिल्ने उल्लेख गरे ।

वन परिसरको १६४ दशमलव २३ क्यूबिक फुट काठ काटिएको अवस्थामा फेला पारिएको थियो । १२ वटा टुना गरिएको अवस्थामा भेटिएपछि यो घटनामा नगर प्रमुख राई र कोषाध्यक्ष संलग्न रहेको आरोप लाग्दै आएको थियो । जसमध्ये कोषाध्यक्षले स्वीकार गरिसकेका छन् ।