विराटनगर/ मोरङको बूढीगङ्गा गाउँपालिका–२ टङ्की सिनवारीस्थित ‘चन्दा ज्वेलर्सका’ सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिनेको लर्को लागेको छ ।
सुन–चाँदी व्यवसायी चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता फरार भएपछि कारबाहीको माग गर्दै मोरङ प्रहरीमा उजुरी दिनेको सङ्ख्या बढिरहेको हो । पीडितहरूका अनुसार बूढीगङ्गा गाउँपालिकाभित्रका करिब दुई सयभन्दा बढीले सङ्ख्यामा धितोमा राखेको सुन र गहना बनाउन दिएको पैसा लिएर स्वर्णकार दम्पती पसल बन्द गरी दुई साता अघिदेखि फरार छन् । उनीहरूले चलाउने गरेको मोबाइल फोन स्विच अफ छ । दुवैले आ–आफ्नो फेसबुक डिएक्टिभ गरेका छन् ।
ग्राहकले धितोमा राखेको सुन बोकेर सञ्चालक फरार भएको सञ्चार माध्यमबाट समाचार सार्वजनिक भएपछि अहिले मोरङ प्रहरीमा उजुरी दिनेको सङ्ख्या बढेको छ । पहिलो पटक भदौ २८ गते देवी थापा निरौला र राजन खड्काले चन्दा ज्वेलर्सका सञ्चालक स्वर्णकार दम्पतीविरुद्ध किटानी जाहेरी दर्ता गराएपछि अहिले अन्य पीडितहरू पनि प्रहरी कार्यालयमा पुगेर जाहेरी दिन थालेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीमा हालसम्म एक दर्जन बढीले उजुरी दिएका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार आरोपीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको उनले बताए । ‘यस घटनाको अनुसन्धान गर्न छुट्टै टोली परिचालन गरिएको छ’ एसपी खड्काले भने, ‘हामीले अनुसन्धान गर्दै आएका छौं ।’

बूढीगङ्गा गाउँपालिका वडानम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । एक हप्ताअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो, त्यसपछि मात्र चन्दन र सङ्गीता बेपत्ता भएको खबर फैलिएको प्रहरीले जनाएको छ । बूढीगङ्गा–३ बाँसबारीकी राधा बरालले पनि ८ आना सुन धितो राखेर १४ हजार रुपैयाँ ऋण लिएकी थिइन् । आफूले भदौ २ गते लिएको ऋण तिर्न जाँदा पसल बन्द भएको उनले बताइन् ।
लकडाउनका कारण घरमा आर्थिक समस्या भएपछि ऋण लिनुपरेको राधाको भनाइ छ । चन्दा ज्वेलर्सले सुन धितोमा राखेर दिएको ऋणको २४ प्रतिशत ब्याज लिने गरेको पीडितले बताए । बेपत्ता दम्पतीले मोरङ बूढीगङ्गा गाउँपालिका–४ निमुवाचौकमा पनि ‘शिवान्स ज्वेलर्स’ खोलेको पीडितहरूले बताएका छन् । सो पसल फरार हुनुअगाडि बिक्री गरेको हुनसक्ने पीडित सूर्यबहादुर थापाले जानकारी दिए । सिमाना सिलबन्दी भएका बेला उनीहरू सपरिवार भागेर भारतकोतर्फ फरार भएको आशङ्का गरिएको छ । उनीहरूका आफन्त सुनसरीको झुम्का र विराटनगरमा पनि छन् ।
विराटनगरबाट यसअघि २ वर्ष पहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैङ्कले लिलाम गरिसकेको छ ।