विजयपुर । धरान उपमहानगरपालिकाले विद्यार्थीहरुको घरभाडा छुट दिनका लागि नगरवासीलाई अनुरोध गरेको छ ।
कोरोना भाइरबाट बच्नको लागि सरकारले लगाएको लकडाउनमा धरान बाहिरबाट आएर अध्ययन गर्ने विद्यार्थीलाई समस्या परेको भन्ने नगरप्रमुख तिलक राईलाई गुनासो आएपछि भाडा छुट दिन उपमहानगरले अनुरोध गरेको छ ।
लकडाउनको समयमा उद्योग वाणिज्य संघ सुनसरीको समन्वयमा विभिन्न समस्या परेका भाडावालाहरुलाई घरधनीहरुले छुट दिएका थिए । त्यसरी नै समस्यामा परेका विद्यार्थीहरुलाई भाडा छुट दिन नगरवासीलाई अनुरोध गरेको बरिष्ठ प्रशासकिय अधिकृत गणेश खतिवडाले वताए ।
तर, धरान उपमहानगरपालिकाको लेटरप्याड प्रयोग भएको अनुरोध पत्रमा मिति, पत्र संख्या, लगायत सम्बन्धित पक्ष कसैको हस्ताक्षर भने प्रयोग गरिएको छैन । उपमहानगरको शिक्षा शाखा प्रमुख रत्न कटुवालले विद्यार्थीलाई भाडा छुट दिने बारेमा कुनै निर्णय नभएको र आफुलाई यसबारेमा जानकारी समेत नभएको बताए । उपमहानगरपालिकाका सुचना अधिकारी खगेन्द्रप्रसाद खतिवडाले पनि यसबारेमा आफुलाई जानकारी नभएको बताए ।