इनरुवा/ सुनसरीमा तत्काल विद्यालय खोल्न नपाइने भएको छ । निजी शैक्षिक संस्थाले विद्यालय सञ्चालनमा ल्याउन थालेसँगै प्रशासनले सूचना जारी गर्दै त्यस्तो कार्य तत्काल नगर्न भनेको छ ।
लामो लकडाउनका कारण पठन–पाठन ठप्प बनेको भन्दै निजी विद्यालयले शैक्षिक गतिविधि सुरु गरेसँगै प्रशासनले अर्को सूचना जारी नभएसम्म त्यस्ता कुनै पनि कार्य नगर्न नगराउन भनेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय इकाई सुनसरीलाई बोधार्थ दिई जिल्लाका सबै स्थानीय तहका हकमा लागू रहने गरी जारी गरेको सूचनामा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै तत्काल कुनै पनि त्यस्ता गतिविधि सञ्चालनमा नल्याउन भनेको छ ।
जसको निगरानी र नियमनकालागि शिक्षा विकास तथा समन्वय इकाई सुनसरीलाई परिपत्र गरिएको सुनसरी प्रशासनले जनाएको छ छ । प्रशासनले स्थानीय तहले आफू मातहतमा रहेका शैक्षिक संस्था र तीनका गतिविधि उपर सरकारी निर्णय अनुरूपको व्यवस्था लागू गराउनसमेत भनेको छ ।
सुनसरीका निजी विद्यालयले घुम्ती कक्षा, ट्युसनका साथै विद्यालयमै समेत विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न थालेको पाइएपछि त्यस्ता कार्य तत्काल गर्न नपाइने गरी सूचना जारी गरिएको प्रशासनले जनाएको हो । प्रशासनले सरकारले निर्दिष्ट गरे अनुरूप स्वास्थ्य मापदण्ड अपनाई विद्यालय भर्ना भने गर्न सकिने जनाएको छ ।
स्थानीय प्रशासनले शैक्षिक गतिविधि गर्न नपाइने भने पनि निजी विद्यालय सञ्चालकहरूले भने स्वास्थ्य मापदण्ड अपनाएर पठन–पाठन गर्न र गराउन पाइनु पर्ने माग गर्दै आएका छन् । लामो समय विद्यालय बन्द हुँदा निजी विद्यालयका शिक्षक तथा कर्मचारीको रोजीरोटी गुमेकाले स्वास्थ्य मापदण्ड अनुरूप विद्यालय सञ्चालन गर्न पाइनु पर्नेमा धेरैजसो एकमत देखिन्छन् ।
यता प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले भने, ‘शिक्षा विभागको निर्देशनअनुसार हामीले विद्यार्थीको घरदैलोमा पुगेर कक्षा सञ्चालन गर्ने गरी घुम्ती सेवाको तयारी पूरा गरेका थियौं । सबै तयारी सकिएर केही स्थानमा पढाइसमेत थालेका छौं । यदि स्थानीय सरकार र जिल्ला प्रशासनले शैक्षिक गतिविधि तत्काल सञ्चालन नगर्न भन्छ भने स्वीकार्य छ । हामी कक्षा तथा पठन–पाठन बन्द गराउँछौं ।’
सुनसरी प्रशासनले जारी गरेको सूचनामा विद्यालय, कलेज, ट्युसन सेण्टर, तालिम केन्द्रसहित शैक्षिक र अन्य परीक्षा सञ्चालन अर्को सूचनापश्चात् मात्र सञ्चालनमा ल्याउन भनिएको छ । त्यसैगरी प्रशासनले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सभा–सम्मेलन, सैलुन, ब्यूटीपार्लर, जिम तथा स्पा सहितका पसललगायत सरकारले सञ्चालनमा रोक लगाएका कार्य तथा सेवा प्रवाह तत्काल नखोल्नसमेत भनेको छ ।