विजयपुर । धरानमा सञ्चालित निजी तथा संस्थागत विद्यालयका अभिभावकहरुले भर्ना शुल्क खारेजी र मासिक शुल्क घटाउन माग गर्दै धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन ।

धरानका दर्जन भन्दा बढि विद्यालयका अभिभावकहरु ‘बरु माग स्वेच्छिक चन्दा, मिलेमतोमा नगर लुटको धन्दा’, ‘शैक्षिक माफियाको मतियार नबन, अभिभावकलाई कङ्गाल बनाउन हतियार नबन’, ‘भर्ना शुल्क खारेज गर, मासिक शुल्क उचित गर’, ‘शैक्षिक माफियालाई पोस्ने होइन निर्धा अभिभावकलाई सोस्ने होइन’, ‘शैक्षिक व्यापारीको अत्याचार जनताको कुरा सुन स्थानीय सरकार’ लगायतका नारा लेखिएका प्ले कार्ड सहित उपमहानर पुगेका थिए । उनीहरुले अभिभावकसँग नबुझि एक पक्षिय निर्णय गरे मान्य नहुने बताएका छन ।

IMG-2433

उनीहरुले उपमहानगरपालिका शिक्षा महाशाखामा र उपप्रमुख मञ्जु भण्डारीको कार्यकक्षमा पुगेर अभिभावकहरुलाई पनि शैक्षिक संस्था संचालन र शुल्क निर्धारण समितिमा प्रतिनिधि समावेश गराउन माग गरेका छन । उनीहरुले धेरै बिद्यालयहरुले बन्दको समयको पनि शुल्क उठाएको बताएका छन । त्यसले अभिभावक मारमा परेको उनीहरुको भनाई छ । उपमहानर पुगेकी अभिभावक अनिता राईले स्कुल नलागेको समयमा भर्ना शुल्क, वार्षिक शुल्क लगायत विद्यालयहरुले दवाब दिदै माग गरेको बताइन । धेरै अभिभावकहरुले बन्दको समयमा अनलाईन कक्षा सञ्चालन गरेको भन्दै मासिक शुल्क, वार्षिक शुल्क, भर्ना शुल्क उठाइरहेको बताए ।

IMG-2434

शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालले सरकारले बैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडी वढाउन भनेपछि छलफल भइरहेको बताए । उनले भने, ‘अभिभावकको प्रतिनिधित्व राख्न खोजेको तर संस्थागत नभएपछि राख्न नसकिएको हो ।’

यता उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले कुनै निर्णय नभएको र अभिभावकको पनि प्रतिनिधि समावेश गराएर निर्णय गरिने बताईन् । अभिभावकहरुले उपमहानगरले विद्यालय सञ्चालकहरुसँग मात्र बसेर शुल्क निर्धारण गरेको प्रति विरोध जनाएका थिए । उनीहरुले छलफलमा अभिभावकलाई समावेश गराउन माग गर्दै १३ प्रतिनिधिहरुको नाम तयार गरेका छन् ।
अभिभावकबाट प्रतिनिधिहरुमा अमृत मानन्धर, सुवर्ण श्रेष्ठ, विकास भाटी, विनोद तिमिल्सिना, अनिता राई, सुशीला राई, दुर्गा श्रेष्ठ राई, जयदेव घिसिङ, सूर्य भन्डारी, गृष्म न्यौपाने, मदन राई, सुनिल श्रेष्ठ र दुर्गा लिम्बु छानिएका छन् ।

IMG-2435