इटहरी/ इटहरीमा दुई दिनमा तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार दुई जना र बिहीबार एक जना गरी इटहरीका ३ जनाले कोरोनाको कारण ज्यान गुमाउनु परेको छ । लकडाउन खुकुलो भएसँगै सङ्क्रमितको दरसमेत बढ्न थालेको छ ।
इटहरी–५ का ७३ वर्षीय पुरुषको बुधबार उपचारकै क्रममा मृत्यु भएको थियो । कोशी अस्पताल विराटनगरमा उनको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार साँझ नै इटहरी–६ का ५६ वर्षीय एक होटल सञ्चालकको पनि सङ्क्रमणकै कारण मृत्यु भएको थियो ।
बिहीबार लागूऔषधसम्बन्धी मुद्दामा विराटनगर कारागारमा कैदी जीवन बिताइरहेका इटहरी–४ का २७ वर्षीय अर्का युवकलाई पनि इटहरीले गुमाएको छ । कोशी अस्पतालमा उपचारको क्रममा २७ वर्षीय युवकको पनि मृत्यु भएको इटहरी अस्पतालले जनाएको छ ।
असोज १४ गते श्वास–प्रश्वासमा समस्या देखिएपछि कोशी अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा ती युवकको मृत्यु भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा इञ्चार्ज रामकुमार धमलाले जनाए । उनले भने, ‘इटहरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।’ उनीहरूको इटहरी स्वास्थ्य शाखा र नेपाली सेनाको टोलीबाट इटहरी–२ को जङ्गलमा शव व्यवस्थापन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण र मृत्युदर दिन प्रतिदिन बढिरहेकोले थप स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन तथा कोभिड–१९ रोगलाई बेवास्ता नगर्न इटहरी उमहानगरपालिकाले अनुरोध गरेको छ ।

इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले कोरोना सङ्क्रमणबाट इटहरीका ३ जनाको मृत्यु भएको भन्दै सतर्कता अपनाउन आग्रह गरिन् । इटहरीले ३ जनालाई गुमाएको भन्दै उनले सबैलाई सचेत हुनुको विकल्प नभएको बताइन् । ‘हामीले टोल–टोलमा माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरेका छौं’ –उनले भनिन् ।
सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो
इटहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिकजसो बढिरहेको छ । केही नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै जनप्रतिनिधिहरूसमेतलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । इटहरीमा मात्र ५ सय १६ जनामा कोरोना पुष्टि भइसकेको छ ।
इटहरी उपमहानगरका मेयरका प्रेस संयोजक लीलाराज भट्टराईका अनुसार इटहरीका अधिकांश वडामा कोरोना सङ्क्रमितको दर बढेको छ । विशेषगरी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै खेलाँची नगर्न उनले सर्वसाधारणलाई आग्रह गरे ।
सर्वसाधारणको हेल्चेक्र्याइँ बढ्दो
दैनिकजसो कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि सर्वसाधारणले हेल्चेक्र्याइँ गरिरहेका छन् । विशेषगरी सरकारी कार्यालयहरूमा नै सर्वसाधारणको भीडभाड हुने गरेको छ । भौतिक दूरीसमेत कायम नगरी सर्वसाधारणको भीड बढेको पाइन्छ ।
इटहरीको बजार क्षेत्रमा सर्वसाधारणको भीडभाड बढेको भन्दै उपमहानगरले सर्वसाधारणको हेल्चेक्र्याइँकै कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बताएको छ् । सङ्क्रमितहरूलाई ध्यानमा राख्दै इटहरीमा १ सय शøयाको आइसोलेसनसमेत सञ्चालन हुन थालेको इटहरी–९ का वडाध्यक्ष भूपेन्द्र बरालले बताए ।