सिरहा/जिल्ला विपद व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विधालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विधालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विधालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए । यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विधालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।
निर्णय अनुसार ती स्थानीय तहका नीजि तथा सामुदायिक विधालयहरुले विद्यालयमा विधार्थी उपस्थित गराई पठन पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको उनको कथन छ । बैठकले सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायातका साधनहरु सञ्चालन भए नभएको अनुगमन गर्न र परिपालना नगर्नेलाई कारवाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
उक्त बैठकमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले विधालयहरुलाई वैकल्पिक सिकाइ विधि अनलाइन, रेडियो, टिभी आदिको माध्यमबाट पठनपाठन गर्नरगराउन अनुरोध गरेका छन । सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलको यस निर्णयलाई अधिकांश अभिभावकले परिपक्व निर्णयको रुपमा लिएका छन ।