धरान । प्रदेश १ का स्कुललाई आउँदो एक दशकभित्र ‘डिजिटल स्कुल’ बनाउने प्रदेश सरकारको लक्ष्य अनुरूप सामाजिक विकास मन्त्रालय र धरान उपमहानगरपालिकाबीच शिक्षकलाई तालिम दिने विषयमा बुधबार सम्झौता भएको छ ।
सम्झौता अनुरूप धरान नगरभित्रका एक सय जना शिक्षकलाई क्षमता विकासका लागि ६० दिने आधारभूत ‘आइसिटी’ तालिम दिइँदै छ । जसमा ९० जना सामुदायिक स्कुलका शिक्षक हुनेछन् भने १० जना निजी तथा संस्थागत स्कुलका शिक्षक रहने छन् । नगरको तर्फबाट प्रमुख तिलक राई र मन्त्रालयको तर्फबाट उपसचिव कृष्ण पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
तालिमपश्चात् स्कुलहरूमा स्मार्ट कक्षा व्यवस्थापन गरिने छ भने शिक्षक आइसिटीमैत्री हुनेछन् । अभिभावकलाई पनि डिजिटल साक्षरता अभियानमा सहजीकरण गरिने मन्त्रालयका उपसचिव पोखरेलले जानकारी दिए । नगर र मन्त्रालयको संयुक्त दायित्व रहने भएको छ । जसमा मन्त्रालयले एक लाख ५० हजार रुपैयाँ र नगरले १ लाख रुपैयाँ तालिम व्यवस्थापनको लागि खर्च गर्नुपर्ने दायित्व तोकिएको छ ।
तालिम प्रभावकारी भए–नभएको थाहा पाउनका लागि छुट्टै मूल्याङ्कन ढाँचा र ग्रेडिङको समेत व्यवस्था गरिएको छ । जसमा प्रस्तुतिबापत ५ अङ्कका दरले ३० अङ्क, आन्तरिक मूल्याङ्कनमा २० अङ्क, सहभागी शिक्षकको हाजिरी ७० प्रतिशत भएको हुनुपर्ने र तालिम हबमा आधारित अन्तिम मूल्याङ्कनमा ५० अङ्क गरेर १०० अङ्क पु¥याइएको छ ।
तालिम लिने शिक्षकहरूको हकमा पनि सर्तहरू राखिएको उपसचिव पोखरेलले बताए । नगरले तालिममा उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना शिक्षकलाई पुरस्कृतसहित सम्मान गर्ने प्रमुख राईले सम्झौता पत्रमा हस्ताक्षरपछि उद्घोष गरे । शिक्षा खेलकुद महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले यस तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै भावि दिनमा स्कुलहरूलाई अनलाइन प्रविधिमा लान मद्दत गर्ने बताए । प्रदेश सरकारले प्रदेशभरिका सामुदायिक तथा निजी स्कुललाई डिजिटलमैत्री बनाउने अभियानका रूपमा यसलाई लिन सकिन्छ ।