विजयपुर/ धरान उपमहानगरभित्र अनुमति नलिई कक्षा थप गरी सञ्चालन गर्ने विद्यालयहरूलाई उपमहानगरले स्पष्टीकरणसहितको जवाफ पठाउन पत्राचार गरेको छ ।

ब्लाष्ट टाइम्स दैनिकले अनुमति नलिई कक्षा थप गरेर सञ्चालन गर्ने केही विद्यालयको नाम प्रकाशित गरेपछि ती विद्यालयहरूलाई स्पष्टीकरण जवाफ माग गरेको उपमहानगरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालले जानकारी दिए । उनले ती विद्यालयहरूबाट यथाशीघ्र जवाफ माग गरिएको बताए ।

उनले समाचार प्रकाशित भएपछि उपमहानगरभित्रका २० वटै वडा कार्यालयहरूलाई पनि विद्यालयहरूको विस्तृत तथ्याङ्क माग गरिएको छ । अहिलेसम्म उपमहानगरसँग विद्यालयको कुनै पनि तथ्याङ्क छैन ।

स्थानीय सरकारले विद्यालयहरूको दर्ता, अनुमति, कक्षा थप, खारेजी, परीक्षा सञ्चालनलगायत सम्पूर्ण अधिकार पाएको ३ वर्षसम्म पनि उपमहानगरसँग कुनै तथ्याङ्क नरहेको विषयमा पनि समाचार प्रकाशित भएपछि सबै विद्यालयहरूलाई चुस्त दुरुस्त राख्नका लागि विद्यालयहरूको विस्तृत तथ्याङ्क सङ्कलनको लागि वडाहरूलाई परिपत्र गरेको कट्वालले बताए ।

कक्षा थपको अनुमति नलिई पढाइ सञ्चालन गर्ने केही विद्यालयहरूको नाम समाचारमा प्रकाशित भएका आधारमा उपमहानगरले ती विद्यालयहरूलाई मात्र जवाफ माग गरेको छ । तर, अन्य धेरै विद्यालयहरूले पनि अनुमति बिनै कक्षा थप गर्दै पढाइरहेको खुल्न थालेको छ ।

ब्लाष्टले गरेको पछिल्लो फलोअपको क्रममा धरान–५ को देउराली चिल्ड्रेन एकेडेमीले पनि अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गरेको पाइएको छ । एकेडेमीको कक्षा–८ सम्म मात्र पढाउन पाउने अनुमति छ । तर, स्कुलले २ वर्ष पहिलेदेखि नै कक्षा ९ सञ्चालन गर्दै आइरहेको छ । सो स्कुलका अभिभावकका अनुसार कक्षा–१० चलाउने तयारी भइरहेको छ ।

उक्त स्कुलले गोरखा एकेडेमीबाट परीक्षा दिलाउँदै आएको स्कुलका प्रिन्सिपल पृथ्वी रैका मगरले जानकारी दिएका छन् । यसरी अवैधानिक रूपमा सञ्चालन गर्न मिल्छ त ? भन्ने जिज्ञासामा उनले सबैले सञ्चालन गरेकोले आफूले पनि गरेको बताउँदै भने, ‘हामीले मात्र होइन, धेरै विद्यालयले यसरी नै पढाएका छन् ।’