विराटनगर/विराटनगरस्थित स्टार सहकारी संस्थाको शनिबार सम्पन्न २३ औँ साधारण सभामा वरिष्ठ समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलद्वारा स्थापित छात्रवृत्ति वितरण गरिएको छ ।

समाजसेवी गोयलले स्टार सहकारीले हरेक वर्ष साधारण सभामा वितरण गर्ने गरी आफ्ना दाजु स्वर्गीय ओमप्रकाश गोयलका स्मृतिमा छात्रवृत्तिको स्थापना गरेका छन् । विगत १० वर्षदेखि उक्त छात्रवृत्ति वितरण गरिँदै आएको छ । यसका लागि समाजसेवी गोयलले ७ लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेका छन् ।

साधारण सभामा उक्त छात्रवृत्ति विभिन्न सामुदायिक विद्यालयबाट एस.ई.ई. उत्तीर्ण गर्ने ११ जनालाई जनही ७ हजारका दरले वितरण गरिएको हो । साधारण सभाका प्रमुख अतिथि एवम् प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले छात्रवृत्ति वितरण गरे ।

यस वर्ष छात्रवृत्ति पाउनेमा पोखरिया मावि विराटनगरका स्तुति खतिवडा, श्री मावि बर्जु सुनसरीका अञ्जनाकुमारी राय, दुर्गा मावि बुधनगरका सुनैनाकुमारी राजवंशी, मिल्स मावि विराटनगरका मञ्जुलाकुमारी तत्मा, देवी मावि तेतरियाका सुनिता ढकाल, रामसीता मावि बर्जु सुनसरीका राहुलकुमार शाह, महेन्द्ररात्रि मावि विराटनगरका सृजना सरदार, जनपथ मावि विराटनगरका पिन्टु पासवान र कविता ऋषिदेव, सरस्वती उमावि विराटनगरका कामना अधिकारी र देवी मावि तेतरियाका शकुन्तला ढकाल छन् ।

साधारण सभामा मन्त्री कार्कीले समाज रूपान्तरणका निमित्त सहकारी संघ÷संस्थाको महत्त्वपूर्ण भूमिका रहेको धारणा प्रकट गरे । उनले वर्तमान महामारीका अवस्थामा व्यापक रोजगारी सृजना गरी नेपाली जनतालाई देशमा नै बस्नसक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता भएको बताए । कार्कीले सहकारी क्षेत्र अब उत्पादन, प्रशोधन र बजारीकरणमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा समाजसेवी गोयलले आफ्नो लिखित मन्तव्य पठाउँदै मुलुकका जेहेन्दार छात्रछात्रालाई सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता प्रकट गरे । संस्थाको प्रतिवेदन वाचन गर्दै संस्थाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीको विकास र विस्तार नै मुलुकको समृद्धिको आधार भएको दाबी गरे । उनले संस्थाले ग्रामीण समुदायमा आधारित सदस्यको आर्थिक उन्नतिका लागि विभिन्न कार्यक्रम गर्दै आएको र कोरोना महामारीको विषम परिस्थितिमा संस्थाका सदस्यको भरपर्दो सहयोगी बन्न सहकारी सफल भएको जिकिर गरे ।

कार्यक्रममा संस्थाले गत आर्थिक वर्षमा कुल १ अरब ७० करोड १९ लाख ९ हजार ८ सय १० रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको र २ हजार भन्दा बढी सदस्यलाई आबद्ध गरेको बताइएको छ । त्यसैगरी संस्थामा ३ करोड ८० लाख शेयर रकम सहित २५ करोड भन्दा बढी बचत मौज्दात हुनुका साथै करिब २६ करोड रुपैयाँ सदस्यमाझ कर्जा प्रवाह गरिएको संस्थाका सदस्य सचिव डिल्ली पोखरेलले जानकारी दिए ।