भण्टाबारी । लागूऔषध कारोबारीले भरियाको रूपमा प्रयोग गरेका एक दलित परिवार अहिले विचल्ली बनेको छ ।
कोशी गाउँपालीका–८ भण्टाबारीका २३ वर्षका सुशील खत्वे भरिया बन्दा अहिले परिवार विचल्ली बनेको हो । आमा केसरीदेवी खत्वेका अनुसार मदिरा सेवन गराएर कारोबारीले आफ्नो छोरालाई लागूऔषध बोकाएकाले पक्राउ परेपछि अहिले परिवार विचल्ली भएको हो ।
उनका अनुसार छोरा डुंगा चलाएर रोजीरोटी गर्दै आएका थिए । गाउँकै एक कारोबारीले लागूऔषध बोकाएको समयमा प्रहरीले पक्राउ गरेपछि अहिले परिवारको विजोग भएको उनले बताइन् । ‘ती कारोबारीले चोकमा लगेर दारु र पान खुवायो,’ केसरीले भन्छिन्, ‘दुई हजार दिन्छु भन्दै एउटा झोला बोक्न लगायो । दारुले लठ्ठ भएका छोराले झोलामा के छ थााह पाएन । अहिले पक्राउ परेर जेलमा छ ।’
अहिले उनको परिवारले मागेर छोराछोरी पाल्दै आएको छ । सुशिलका पत्नी गुड्डी खत्वेले छिमेकीहरूबाट परिवार पाल्दै आएकी छन् । तर, यो कहिलेसम्म हो त्यो उनलाई कुनै ज्ञान छैन ।