• गणेशकुमार ठाकुर । सिरहा

कोरोना महामारीका कारण करिब ७ महिनादेखि बन्द रहेका विद्यालयहरू धमाधम खुल्न थालेका छन् ।

वैकल्पिक विधिबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि सिरहा जिल्लाका स्थानीय तहहरूको सुरक्षा सावधानी अपनाउँदै कक्षा सञ्चालन गरिएको हो । विद्यालयले भौतिक दूरी कायम गर्दै स–साना समूह र सिफ्टमा पठनपाठन गर्ने गरिएको छ ।

संघीय सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेर आधुनिक प्रविधिको पहुँच बाहिर रहेका विद्यार्थीलाई भौतिक दूरी कायम गरी सिकाइ केन्द्रमा सिकाउन सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा विद्यालयमा आपसमा भौतिक दूरी कायम गरी पाठ्यपुस्तक, स्वअध्ययन प्रयोग गरी शिक्षकमार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनी निर्देशिकाले निर्देशन गरेअनुसार सिरहा जिल्लामा पनि स्थानीय सरकार सक्रिय भएको हो ।

मिर्चैया नगरपालिका भित्रका मोहन माविलगायत अन्य विद्यालयहरूले पनि माध्यामिकका विद्यार्थीहरूलाई सिफ्टमा अनलाइन पढाइ शुरु गरेका छन् भने आधारभूत तहका विद्यार्थीहरूलाई टोल टोलमा गएर घरदैलो शिक्षण गराउने गरिएको छ । मिर्चैया नगरपालिका–२ मल्हनिया पिराडीका विद्यालय जाने उमेरका बालबालिका माछा मार्नमा व्यस्त छन् ।

युनिसेफको प्रतिवेदनअनुसार विद्यालयहरू बन्द भएको कारण ४३ करोड बालबलिका अनलाइन कक्षामा भर पर्नु परेको छ । विशेष गरी ग्रामीण क्षेत्रहरूमा इन्टरनेट, विजुलीसमेत सुविधा नभएकाले अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन ।