विजयपुर/ कोरोनाका कारण लामो समयदेखि बन्द भएका भोजपुरका शैक्षिक संस्थाहरू खुल्न थालेका छन् । विद्यालयहरू खुलेपछि अभिभावक आफ्ना नानीहरूलाई त्रासका बीच पठाउन बाध्य छन् ।

शिक्षा समन्वय इकाई भोजपुरका अनुसार भोजपुरका ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका शैक्षिक संस्थाहरू सञ्चालनमा आएका छन् । त्यसमध्ये ५ वटा स्थानीय तहका शैक्षिक संस्थाहरू दशैं अगाडिदेखि नै सञ्चालनमा थिए । दशैंपछि टेम्के मैयुङ गाउँपालिकाका विद्यालयहरू सञ्चालनमा आएका हुन् । भोजपुर जिल्लाका ९ स्थानीय तहमध्ये अझै पनि ३ वटा स्थानीय तहका विद्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

भोजपुर जिल्लाका साल्पासिलिछो, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको शिक्षा समन्वय इकाई भोजपुरका सूचना अधिकारी तोत्र खड्काले जानकारी दिए । लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीहरू हर्षित बनेका छन् । बालबच्चाहरू विद्यालय जान थाले पनि अभिभावक भने त्रसित छन् ।

गाउँघरमा कोरोना भाइरसको जोखिम नभए पनि बाहिरबाट शिक्षकहरू आउनाले शिक्षकहरूबाटै कोरोना भाइरस सर्ने भन्दै डर पालेर अभिभावक बसेका छन् । अभिभावक माया कोइरालाले तराईतिरबाट आउने शिक्षकहरू पीपीआर परीक्षण गरेको प्रमाणित कागजात र परीक्षण नगरी आउनेको हकमा १४ दिनसम्म होम क्वारेण्टिन बस्नुपर्ने बताइन् ।

त्यस्तै अर्का अभिभावक सञ्जय श्रेष्ठले पनि शिक्षकबाट बालबालिकालाई बचाउन गाह्रो हुने बताए । उनी भन्छन्, ‘१४ दिनसम्म होम क्वारेण्टिनमा बसे राम्रो हुन्थ्यो ।’ अन्य अभिभावकहरूले पनि त्रसित हुँदै नानीहरूलाई विद्यालय पठाएको बताए ।

यस विषयमा विद्येश्वर माध्यमिक विद्यालय गोगनेका प्रधानाध्यापक हर्कबहादुर राईले स्कुलमा अनिवार्य सेनिटाइजर र मास्कको व्यवस्था गरेकाले त्यस्तो डर नहुने बताए । उनले बाहिरबाट आउने शिक्षकहरूको हकमा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै कक्षामा पठाउने गरेको पनि बताए ।