भण्टाबारी/ सुनसरी प्रहरीले विगत सात महिनामा ‘लागूऔषध, हातहतियार र गाँजा नियन्त्रणमा’ उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ ।

वैशाखदेखि कात्तिक महिनासम्म गरेको उपलब्धिबारे सुनसरी प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । अपराधसँग सम्बन्धित जोडिएको राजस्व चुहावट पनि नियन्त्रण गर्न सफल भएको बताएको छ । सुनसरी प्रहरीले चाडपर्व लक्षित चलाएको ‘अप्रेसन’ अन्तर्गत भारतबाट चोरबाटो हुँदै ल्याइएका लाखौं मूल्य बराबरको पटकाजन्य पदार्थ, लागूऔषध र घरेलु मदिरा खाल्डो खनेर पुरेको छ । सुनसरी प्रहरीले बरामद गरिएका साना हतियारका साथै खैरो हिरोइनसमेत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा लागूऔषध कारोबारी तथा लागूऔषध बोक्ने भरियाबाट बरामद गरेका लागूऔषध डाइलेक्स डीसी १७ सय ४८ बोतल, डाइजेल्याव ८ सय २९ एम्पुल,फेनारगन ८२० एम्पुल, नोफिन ५ सय ८० एम्पुल, लुपिजेसिक १ सय १३ एम्पुल, स्पास्मोप्रोक्सिभन ११ हजार ३ सय ७७ क्याप्सुल, खेरौ हिरोइन ३ सय १२ ग्राम ८ सय मिलिग्राम, गाँजा ३२ केजी ५ सय ग्रामसहित गरी जम्मा २६ सय ५३ एम्पुल, ३ सय ८३ ग्राम ३ सय ८८ मिलिग्राम ब्राउनसुगर, १२ हजार ९ सय ८३ क्याप्सुल, १२ हजार ६७ ट्याब्लेट, १८ सय ९ बोतल डाइलेक्स डिसी बरामद गरी नष्ट गरेको सुनसरी प्रहरीले जनाएको छ । वैशाखदेखि कात्तिक महिनासम्मको अवधिमा लागूऔषधसहित जम्मा ९३ जना व्यक्ति पक्राउ परेकोमा ६० जना उपर मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भनाइ छ ।

२ सय ८१ बण्डल पटकाजन्य पदार्थ नष्ट
चाडपर्वलाई लक्षित गरेर सुनसरी प्रहरीले चलाएको अप्रेसन अन्तर्गत भारतीय बजारबाट लुकाएर ल्याइएका २ सय ८१ बण्डल पटकाजन्य विष्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको छ । चालु आर्थिक वर्षमा विष्फोटक पदार्थ अन्तर्गत १ सय ८६ बण्डल आतिसवाजी पटकाजन्य विष्फोटक पदार्थका साथै ९५ बण्डल खुर्सानी पटका बरामद गरेको सुनसरी प्रहरीले बताएको छ । सो क्रममा जिल्लाका विभिन्न स्थानबाट सातजना व्यक्तिसमेत पक्राउ परेका थिए । यसैगरी सुनसरी प्रहरीले गाँजा फँडानी अभियान अन्तर्गत १५ हजार ५ सय २९ बोट गाँजा नष्ट गरेको छ । त्यसैगरी मेड इन इण्डिया लेखिएको एक थान पिस्तोल र २ राउण्ड गोलीसहित एकजना व्यक्ति पक्राउ परेका छन् । त्यस्तै जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको १ हजार ४२ लिटर घरेलु मदिरासमेत नष्ट गरिएको छ ।

१ करोड ६२ लाखको सामान बरामद
जिल्ला प्रहरी कार्यालय सुनसरीले अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख १ हजार ४ सय ११ रुपैयाँ बराबरको विभिन्न सामान भन्सार बुझाएकोमा चालु आर्थिक वर्षको हालसम्म १ करोड ६२ लाख ७० हजार ७ सय २८ रुपैयाँ बराबरको विभिन्न सामान सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीको उपलब्धि सार्वजनिक गर्दै एसपी कमल थापाले सुनसरी प्रहरी लागूऔषध, हातहतियार, गाँजा कारोबार नियन्त्रण गर्नुका साथै भयरहित वातावरणमा चाडपर्व सम्पन्न गराउन सफल भएको दाबी गरे । विगतका वर्षको तुलनामा जिल्लामा शान्ति सुरक्षा मजबुत भएको जनाउँदै उनले अपराध र लागूऔषध नियन्त्रणमा ठूलो सफलता हात पार्न सफल भएको बताए ।