विराटनगर । भोजपुर हतुवागडी नगरपालिका – ४ का ४० वर्षिय कोरोना संक्रमितको पुरूषको स्वासप्रश्वासमा समस्या भएपछि अहिले मोरङको बुढीगंगा गाउँपालिका १ स्थित विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आर्थिक अवस्थामा नाजुक रहेको ती संक्रमित पुरुषको उपचार गर्न छोरी हस्पिटलमा छिन् । संक्रमित बावुको उपचारको लागि अस्पतालले धरौटि रकम तीन लाख रुपैयाँ बुझाएपछि मात्र अहिले उपचार भएको उनले बताइन् । ‘अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ कोभिड अस्पतालको अनुगमन निस्किएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भावबिह्वल हुँदै ती महिलाले भनिन्, ‘अहिले अस्पतालमा भन्टिलेटरमा राखेर उपचार गरेको अस्पताललाई दिनको ५० हजार रुपैयाँ बुझाउदै आएको छु ।’
मुख्यमन्त्री राईको गृह जिल्लाकी ती महिलाले बावुको उपचार गर्दा गर्दै भएको तीन लाख रुपैयाँ भन्दा बढी पैसा सकियो,’ शुक्रबार अनुगमनमा निस्किएका मुख्यमन्त्रीलाई गुनासो सुनाउँदै ती महिलाले भनिन्, ‘थप उपचारको लागि पैसा छैन । कहाँबाट लिएर आउनु ? ।’
संक्रमित ती पुरुषको ८ मंसिरदेखि विराट टिचिङ्गि हस्पिटलको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनले आफ्नो मात्रै पीडा नबोलेको बताउँदै अस्पतालमा बसेका अन्य नागरिकले झन् कष्ट बेहोरिरहेको गुनासो मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेको अगाडी रुँदै गुनासो पोखिन् ।
यस्तै सुनसरीको इनरुवा नगरपालिका–४ का त्रिलोचन्द्र गुप्ताको समस्या पनि उस्तै छ । उनले ६५ वर्षिय कोरोना संक्रमित बावुको उपचार गरेको चार दिनमा पाँच लाख रुपैयाँ सकिएको बताए । ‘बावुको उपचारमा अहिलेसम्म पाँच लाख रुपैयाँ सकियो,’ बावुको स्वास्थ्यमा कुनै सुधार भएको छैन । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ संक्रमितका छोरा गुप्ताले भने, ‘दैनिक भेन्टिलेटरमा राखेको मात्र २० हजार रुपैयाँ तिर्दै आएको छु ।’
नोबेल अस्पतालले विविध शिर्षकमा चर्को शुल्क लिएका कारण उपचार गराउन नसक्ने अवस्थामा पुगेको उनले बताए । बावुको उपचारमा सुधार नभएपछि घर लैजाने तयारी गरेको उनले बताए । ‘भएको पैसा पनि बावुको उपचारमा सकियो,’ थप उपचार गर्ने पैसा पनि छैन,’ उनले भने । नोबेलमा बिरामीका आफन्तले बेहोर्नु परेको दुःखदेखि मनोमानी शुल्कको असर बारे अधिकांशले गुनासो गरेका हुन् ।
कोरोना संक्रमितको उपचारमा विराटनगरका निजी अस्पतालले मनोमानी चर्को शुल्क असुलेको र विरामीका आफन्तलाई पीडा दिएको व्यापक गुनासो बढेपछि प्रदेश सरकारका मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलिले स्थलगत निरीक्षण र आफन्तको गुनासो सुनेका हुन् ।
गरिबको उपचार नगर्ने निजी अस्पताललाई कारबाही ः मुख्यमन्त्री
मुख्यमन्त्री शेरधन राईले निजी अस्पतालहरुले संक्रमित भएका आर्थिक अवस्था नाजुक, असहाय र ज्येष्ठ नागरिकको निःशुल्क उपचार नगरे कारवाही गर्ने चेतावनी दिए ।
सरकारले निर्णाय सच्याउँदै अहिले आर्थिक अवस्था नाजुक, असहाय र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने भएकाले यसको कार्यान्वयन निजी हस्पिटलले पनि गर्नुपर्ने मुख्यमन्त्री राईले बताए । ‘निजी अस्पतालहरुमा के कसरी लागू भएको छ । यी कुरालाई प्रत्यक्ष हेरेर त्यसलाई लागू गरि कडाइको रुपमा पालना गर्न हामीले आवश्यक निर्देशन दिएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘अहिले नियमित अनुगमन हुनेछ । कार्यान्वयन नगर्नेलाई कारवाही हुनेछ ।’
निजी अस्पतालले संक्रमितको उपचारमा धरौटि लिनेलाई पनि कारवाही गरिने उनले बताए । ‘हामीसँग बिरामीका आफन्तले गरेको गुनासोका आधारमा तत्काल केहि निर्णय लिनेछौं, मुख्यमन्त्री राईले भने, ‘नागरिकको स्वास्थ्य सुरक्षामा सरकार सधैं तत्पर छ ।’ मुख्यमन्त्री राईले सरकारकै निर्णयका कारण केहि समय नागरिकले उपचार असुविधा बेहोर्नु परेको बताए । ‘सरकारले नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ, तोकिएको अस्पतालमा पुगेर सेवा लिनका लागि हार्दिक अपिल गर्दछु,’ मुख्यमन्त्री राईले भने ।
विराटका सञ्चालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले उपचार राम्रो भएकोले सरकारले भनेकै शुल्कमा सम्भव नहुने बताए । उनले आफ्नो संस्था चलाउने विषयमा समेत सरकारले सोच्नुपर्ने बताए । कार्कीले सरकारले नागरिकको उपचारबाट हात झिकेर तिर्नसक्नेसम्म लिनु भनेकाले रकम लिने गरेको बताए ।
यसैगरी नोबेलका निर्देशक डाक्टर राजेश नेपालले सरकारले तोके अनुसारको मुल्य लिने गरेको बताए । उनले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नसकिने बताए । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायत अन्य खर्चका कारण आफुहरुले उपचार निःशुल्क गर्न नसक्ने बताउँदै उनले यसको जिम्मा राज्यले लिनुपर्ने बताए ।
एकै दिनको ५ हजारदेखि ५० हजारसम्म असुली
२ कार्तिकमा सरकारले संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय गरेपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल र न्यूरोले कोरोना संक्रमित बिरामीहरूको उपचारमा चर्को रकम असुल्ने गरेको छ ।
यी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ हजारदेखि ५० हजार रूपैयाँसम्म शुल्क निर्धारण गरि संक्रमितका आफन्तसँग असुली गर्दै आएका छन् ।
विराट टिचिङ्गमा जनरल वेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको वेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । अस्पतालले तोकेको शुल्कमा खाना, खाजा र चिकित्सकको चार्जसमेत रहेकोे अस्पतालले जनाएको छ ।
न्यूरोले जनरल बेडको प्रतिदिन ४ हजार ६ सय २५ रुपैयाँ, आइसियूको १५ हजार र भेन्ट्रिलेटरसहितको आइसियूको ३० हजार रुपैयाँ लिने गरेको छ ।