इनरुवा । संसद् विघटन भएसँगै नेकपा सुनसरीले सडक आन्दोलनको तयारी थालेको छ ।
नेकपा सुनसरीले जिल्ला स्थित नेता तथा कार्यकर्ताको भेला डाकी उक्त कदम विरुद्ध सडक आन्दोलन चर्काउने तयारी थालेको जनाएको छ ।
उनीहरुले संसद विघटन गरिएको विषय आफुहरुलाई स्विकार्य नहुने भन्दै सो कदम विरुद्ध सडक आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए ।
पार्टी कार्यालय इनरुवामा भेला भएका प्रदेश देखि नगर तह सम्मका नेताहरुले प्रधानमंत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम राष्ट्रघाती भन्दै सडक संघर्षमा उत्रने उद्घोष गरेका हुन् ।
नेकपा प्रदेश एकका सदस्य पोष्ट कुमार नेपालले प्रधानमंत्रीको कदम देश, जनता र सिङगो पार्टीका लागि दुखद भएको बताए ।
त्यसैगरी सुनसरी सचिवालय सदस्य शम्भु आचार्यले समेत प्रधानमंत्रीको कदम घोर आपत्तिजनक भएको बताएका छन् ।
जिल्ला पार्टी कार्यालयमा भेला भएका सचिवालय सदस्य पर्शुराम यादव, जिल्ला पार्टी सचिव गोविन्द निरौला, नेकपा नगर इन्चार्ज गोपी ढकाल, रामधुनी नगर अध्यक्ष राम कोइराला, इनरुवा नगर सचिव तोया गिरी लगायतले आन्दोलनमा उत्रनु बाहेकको विकल्प नरहेको धारणा राखेका छन् ।
उनीहरुले सडक संघर्षको लागि तयार रहन आफु मातहतका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
सुनसरीमा ओली पक्षका केहि नेता बाहेक अधिकांश प्रधानमंत्रीको पछिल्लो कदमको विरुद्धमा रहेको नेकपा सुनसरीको ठहर छ ।
उसले असन्तुष्ट सबै पक्षलाई समेटेर पछिल्लो कदम विरुद्ध आन्दोलनमा होमिने जनाएको छ ।