धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलको अवसरमा बुधबार केही संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।
गुरुङलाई होप धरानले २७ हजार ४ सय १० रुपैयाँ आर्थिक सहयोग गरेको हो । त्यस्तै एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष एवम् प्रदेश १ अध्यक्ष किशोर राईले १० हजार रुपैयाँ सहयोग गरे । गुरुङ केही समययता दाहिने खुट्टाको घुडाको चोट लागेका कारण समस्यामा थिए ।
उनको उपचारमा करिब २ लाख ५० हजार रुपैयाँ लाग्ने चिकित्सकहरूले बताएपछि धरान बास्केटबल सङ्घले बुधबार मैत्रीपूर्ण च्यारिटेबल बास्केटबल खेल राखेको हो । धरानको टिम र झापा बास्केटबल टिमबीच प्रतियोगिता भएको छ ।
प्रतियोगितामा संकलित रकम गुरुङको उपचारमा खर्च गरिने भएको छ । यसअघि डिपो मावि र आदर्श कलेजमा अध्ययरत विद्यार्थीहरूले सात हजार रुपैयाँभन्दा बढी रकम सहयोग गरेका थिए । प्रदेश १ का बास्केटबल खेलाडी गुरुङको प्रशिक्षणको क्रममा घाइते बन्न पुगेका थिए ।
खेलाडी राज्यको गहना भएकाले सहयोग आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्रा.डा. मोहन रेग्मीले बताए । उनले बीपी प्रतिष्ठानले पनि सक्दो सहयोग गर्ने बताए । त्यसक्रममा पूर्व फुटबल खेलाडीसमेत रहेका एन्फा प्रदेश १ अध्यक्ष किशोर राईले खेलाडीहरूलाई राज्य नै सेवासुविधा दिने हो भने खेलप्रति समर्पित हुने बताए ।