विराटनगर । उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर – ७ स्थित अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ ।
मोरङको बेलबारी नगरपालिका – ८ की ३२ वर्षिय सजना राईको पित्तथैलीमा भएको पथरीयाको शल्यक्रिया गरेको तीन दिनपछि मृत्यु भएपछि आइतबार मृतकका आफन्तले अस्पताल तोडफोड गरिदिएका हुन् ।
मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहिले विरामीको मृत्यु भएको आरोप लगाउँदै क्लिनिक तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले उपचारमा चिकित्सकलाई कारवाही गरिनुपर्ने माग राख्दै अहिले क्लिनिक अगाडी प्रर्दशन गर्दै आएका छन् ।
राईको पेट भित्र पित्तथैलीमा १५ एमएमको पथरीया भएको गत २८ मंसिरमा भिडियो एक्सरे गर्दा पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार २८ पुसमा अवधनारायण क्लिनिकमा डा.निषेश सिटौलाको टिमले बिरामीका शल्यक्रिया गरेका थिए । अप्रेशनपछि स्वास्थ्य अवस्या बिग्रदै जाँदा राख्ने आईसीयू लगायतको सुविधा नभएको भन्दै सुनसरीको धरानस्थित वीपी कोइराला विज्ञान प्रष्ठिानमा रेफर गरिएकी राईको माघ २ गते निधन भएको थियो । त्यसपछि पीडितका आफन्तले शुक्रबार र शनिबार अस्पताल प्रशासनसँग बारम्बार मृत्यु हुनुको कारण माग गरेका थिए ।

क्लिनिक र चिकित्सकले मृतकका आफन्तलाई चित्तबुझोदो जवाफ दिन नसकेपछि कारवाहीको माग राख्दै प्रर्दशनमा उत्रिएको मृतकका आफन्त छवि राईले बताए । बेलबारीबाट आएका पीडितका आफन्तले अस्पताल प्रशासन र अप्रेशलमा संलग्न चिकित्सक समेतको उपस्थितिमा वार्ता गर्ने योजना विपरित ताला लगाएर सञ्चालक भागेपछि तोडफोडमा उत्रिए । तोडफोडबाट क्लिनीको झ्यालका सीमा तथा अन्य केहि सामाग्रीमा क्षति पुगेको बुझिएको छ ।
अस्पतालको सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पीडितका पक्षमा बेलबारीबाट सयौंको संख्यामा आफन्त तथा छरछिमेक विराटनगर आएका छन् ।