धरान । दमकको बालुवाटारस्थित सरकारी जग्गा हडपेको आरोपमा नेकपा झापाका नेता रेवतराज पुरी ‘गगन’ विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।

झापाको दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरी सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको हो । मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ । विभागले गत मंसिर ९ गते उनलाई पक्राउ गरेर अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको थियो ।

पुरीले सरकारी जग्गा हडपेर १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको आरोप सहित मुद्धा दर्ता भएको हो । त्यसैगरी पुरीका आफन्त मनमाया विरुद्ध ९९ लाख ४ हजार ७५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२.२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरिएको छ । संगीता र कृष्णकुमारीको बिर्तामोडमा रहेको ७ रोपनी १ आना जग्गा जफत गर्नुपर्ने भनिएको छ । संगीता र कृष्णकुमारीको नाममा जग्गा भए पनि वास्तविक धनी गगन नै भएको विभागको अनुसन्धानबाट खुलेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा पुरीले दमकस्थित बालुवाटारको २४ बिगाहा जग्गा कीर्ते गरेर हत्याएको यसअघि नै सार्वजनिक भएको थियो । सो मुद्धामा पक्राउ परेका उनी २०७६ चैत ७ गते छुटेका थिए ।