भद्रपुर भन्सार कार्यालयमा अनियमिता हुने गरेको पाइएको छ । पटक–पटक भन्सार छलीका कारण बदनाम भएको भन्सार कार्यालयमा कर्मचारी र व्यापारीको मिलेमतोमा कर छली हुने गरेको हो । केही दिन अघि भारतको गलगलिया हुदै भद्रपुर नाकाबाट भित्रिएका तीनवटा सवारी साधनमा रहेको सामानलाई प्रहरीले बरामद गरेपछि घटना सार्वजनिक भएको हो ।
विषेश सूचनाका आधारमा प्रहरीले सामान बोकेका गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तीनवटा गाडीमा रहेको २ सय ८६ कार्टुन सामानको तौल र परिमाणमा फरक भेटिएको आशङ्का भएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । भन्सारमा आएका मे १ ज २२१८, मे १ ज १८२१ र प्रदेश–०१००१ ज ३४७६ नम्बरका गाडीमा लोड गरिएको सामानलाई भन्सारबाट पास भए पनि गेटबाटै झापा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चालकसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा राखेको थियो । भन्सारको प्रज्ञापन पत्रमा झापाको महावीर ट्रेडिङ् आयत कर्ता देखिएको छ । पत्रमा भन्सारका नायव सुव्वा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्यको हस्ताक्षर छ । कार्टुन भित्र मोवाइल सम्बन्धी सामान रहेको जिल्लाका डिएसपी राकेश थापाले बताए ।

भन्सार राजश्व शुल्क तिरे भन्दा बढी समानहरु रहेको हुन सक्ने भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडीहरु चेकजाँच गर्ने क्रममा मोवाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरिएको उनले जानकरी दिए ।
प्रज्ञापन पत्रमा २ हजार ९ सय किलो उल्लेख भए पनि तीनवटा गाडिमा ५ हजार एक सय ९९ किलो अर्थात् ४ लाख २९ हजार २ सय ७२ थान देखिएकोले पत्र अनुसार सामान नमिलेपछि छानविनका जिल्लामा ल्याइएको उनको भनाइ छ ।
सामानसँगै चालकहरु मे १ ज. २२१८का बुद्दीनाथ पौडेल , मे १ ज १८२१ का ऋषि कामत, प्र.–१–०१–००१–ज ३४७६ का मोहन राजवंशी र सामान दाबी गर्ने मनोज कुमार श्रेष्ठलाइ थप अनुसन्धान तथा कानुनी कारबाहीको लागी क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको उनले जानकारी दिए ।
उनीहरुलाइ भन्सार चोरी पैठारी शिर्षकमा बुधबार मुद्दा दर्ता गरी उच्च अदालत ईलामको आदेशले १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।
सामानको सम्पूर्ण विवरण शुक्रबार सम्पन्न गरिएको उनले जानकारी दिए । भन्सार कर्मचारीको असाबधाीका कारण यस्ते भएकोले छानविनको दायरामा आउने भन्सार प्रमुख प्रमोद पौडेलले बताए । दोषी ठहरिएमा कर्मचारीमाथि विभागले कारबाही गर्ने उनले जानकारी दिए ।