विराटनगर । राजस्व अनुसन्धान कार्यालयले तोकेको धरौटी रकम बुझाउन नसक्दा जेल गएकी एक महिलालाई छुटाउन अपहरण गरी फिरौती रकम असुली गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख फिरौती रकम माग गर्ने तीनजना शनिबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । अपहरणमा परेका सुभाष कामत र मञ्जु शर्मा अवैध रूपमा भारतदेखि कपडाको कारोबार गर्दै आएका थिए ।
दुई महिनाअगाडि उनीहरूले ल्याएको अवैध कपडा प्रहरीले बरामद गरेको थियो र प्रहरीले आवश्यक अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीसहित कपडा राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइदियो ।

राजस्व कार्यालयले कपडाको मूल्याङ्कनको आधारमा उनीहरूलाई जनही १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । पक्राउ परेका सुभाष धरौटी रकम बुझाएर रिहा भए । मञ्जु राजस्व कार्यालयले तोकेको धरौटी रकम बुझाउन नसक्दा जेल चलान भइन् ।
यसरी बन्यो अपहरणको योजना
मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट पक्राउ परेका तीनजनाले राजस्व कार्यालयले तोकेको धरौटी रकम तिर्न अपहरण गरी फिरौती माग गरेको खुलेको छ ।
अपहरणमा परेका सुभाषको कारणले मञ्जु जेल जानु परेको उनीहरूको परिवारको बुझाइ छ । मञ्जुको श्रीमान् दीपकले सुभाषलाई अपहरण गर्ने र उनको परिवारदेखि फिरौती रकम लिने योजना बनाए ।
शनिबार साढे १ बजे सुभाषलाई दीपशले घरदेखि उठाए । ‘शनिबार दिउँसो साढे १ बजे सुभाष कामतलाई बन्धक बनाई राखेको घटनाको विषयमा प्रहरीमा जानकारी आएको थियो ।
सुभाषको भाइ विकास कामतबाट आएको सूचनाको आधारमा प्रहरी टोली खटेर विराटनगर–६ रामपुरबाट प्रहरीले उद्धार गरेको हो,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने ।
प्रहरीले अपहरणमा परेका कामतलाई २ घण्टा भित्रै सकुशल उद्धार गरेको छ । बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकामध्ये सन्ध्या मञ्जुको छोरी र रोहित भजित रहेको खुलेको छ । यस घटनामा मञ्जुको श्रीमान् दीपक शर्माको पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
उनी अहिले फरार छन् । प्रहरीले उनको पनि खोजी कार्य तीव्र बनाएको छ । दीपकले सुभाषलाई अपहरण गरेको प्रहरीको भनाइ छ ।