विराटनगर। मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्युको घटनामा पक्राउ परेका उर्लाबारीका घरबेटी रमेश गिरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न मोरङ अदालतले आदेश दिएको छ । 

मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको इजालासले सोमबार गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर गिरी रिहा भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । गिरीलाई मोरङ प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

पक्राउ परेका गिरीलाई सोमबार अदालत उपस्थित गराएको हो । सोही दिन भएको बयान र त्यसपछिको थुनछेक बहसपछि आदेश आएको अदालतले जनाएको छ । प्रवीणको हत्या भएको भनिएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए ।

पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानीय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्यु भएको दिन प्रवीण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलीप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । प्रवीण बास्तोलाको हत्या आरोपमा पक्राउ परेका दुईजनामध्ये एकजनालाई मोरङ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो भने होटल सञ्चालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले यस्तो आदेश दिएको हो । हत्यामा संलग्नमध्ये ३ जना फरार छन् ।

सरकारी वकिलको कार्यालय गत मङ्गलबार पक्राउ परेका दुई र त्यसबाहेक चारजनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको थियो ।