विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाश बोहोराको घरपछाडीको गोदामदेखि पाँचवर्ष अगाडी म्याद सकिएको ठूलो परिमाणमा बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद गरि शिलबन्दी गरेको एक साता हुँदा पनि अझै नष्ट भएको छैन ।
अनुगमनको नेतृत्व गर्ने वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आलटाल गरेको कारणले बरामद गरि शिलबन्दी गरेको ठूलो परिमाणको रहरको दाल अहिलेसम्म नष्ट नभएको हो ।
वाणिज्य कार्यालयले विगतमा बजार अनुगमन गर्दा म्याद गुज्रिएको खाद्यबस्तु भेटिए तत्काल नष्ट गर्ने गरेको थियो । तर, पहुचवाला बोहोराले ल्याएको ठूलो परिमाणमा म्याद सकिएको रहरको दाल भेटिएको एक सातमा पनि नष्ट नहुदा सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान बोहोराको हकमा चरिरार्थ सावित भएको छ ।
१२ फागुनमा अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै विराटनगर– ७ जैसानी ट्रेड कन्सनले पाँच वर्ष अगाडी म्याद सकिएको रहरको दाल विक्री बितरण गरेको भेटिएको थियो । उक्त टे«डका संचालक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका अभिनास बोहोराका भान्जा निखिल जैससानी बोहोरा हुन् ।

म्याद गुज्रिएको करिब ५० लाख मूल्यभन्दा बढीको दाल भएकोले बोहोराले वाणिज्य मन्त्रालय देखि विभागसम्म नष्ट नगर्न दाबाव दिएको कारणले अहिलेसम्म नष्ट नभएको स्रोतको दाबी छ । ‘बोहोराको पहुच मन्त्रालयसम्म रहेको छ ।
म्याद सकिएको दाल बरु नष्ट नगर्ने, आयत गरेर ल्याएको ठाउ भारततर्फ दाल पठाए लगानी उठन उनले अहिले चलखेल सुरू गरेका छन्,’ स्रोतले भन्यो ।’
कुनै उपाय नलागेपछि अहिले उद्योगी बोहोराले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा दालको परीक्षण गरेर गुणस्तरीय बनाउन तयारीमा जुटेको बुझिएको छ ।
यद्यपी अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले म्याद सकिएको लेबल भेटिएको परीक्षण हुन नसक्ने बताएका थिए । ‘लेबलमै म्याद सकिएको भेटिएपछि यसको परिक्षण गर्नुको कुनै औचित्य हुदैन्,’ १३ फागुनमा दालको गोदाममा अनुगमनको क्रममा उनले भनेका थिए ।’
यता वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले दाल आयत गर्ने फर्मले प्रमाण पेश गर्ने भएकोले केही दिन समय दिएको बताए । ‘म्याद सकिएको दाल ठूलो परिमाणमा विदेशी ब्राण्डको रहरको दाल बरामद भएको छ,’ उनले भने, ‘बरामद भएको दाल कसरी नष्ट गरिने त्यस विषयमा हामीले छलफल पनि गर्दै आएका छौं ।’
उद्योगी बोहोराको घर भएको गोदामदेखि म्याद सकिएको ४० मेट्रिक्टन रहरको दाल बरामद गरेको थियो । १५ केजी तौल भएको बोरा मात्र २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको वाणिज्य कार्यालयले जानकारी दिएको ।
बरामदको गरेको दाल सन् २०१३ मा उत्पादन भएको बिदेशी ब्राण्डको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५ रहेको छ । तर, कमाउन धन्दामा लागेका व्यापारी बोहाराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर खुल्लेआम बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा फेला पारेको थियो ।
जरिवना ३ लाख तिर्न पनि उद्योगी बोहोराको आलटाल
म्याद सकिएको रहरको दाल बिक्री वितरण गरेको भेटिएपछि जैसानी टे«डलाई वाणिज्य कार्यालयले १२ फागुनमा तीन लाख रूपैयाँ जरिवना गराएको थियो । तर, उक्त टे«ेडले मंगलबारसम्म वाणिज्य तोकेको जरिवना रकम बुझाएको छैन ।
वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तीन लाख रुपैयाँ जरिवना गरेको पत्र फर्मलाई दिएको थियो । उक्त पत्र अनुसार फर्मले जरिवना रकम बैंकमा जम्मा गरि भौचर वाणिज्य कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । तर, मंगलबारसम्म उद्योगी बोहोराले जरिवना तिरेको रसिद लिएर कार्यालयमा पुगेको छैन ।