धरान । धरानबाट प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ परेका छन् । धरान ५ मा डेरा गरी बस्दै आएका बलराज घिमिरे र भक्तबहादुर तामाङको कोठाबाट लुकाई राखेको अवस्थामा टिडोल ५० लेखिएको औषधि बरामद गरिएको छ । 

यो औषधि औषधि व्यवस्था विभागमा दर्ता भए नभएकोबारे थप पुष्टि गर्न इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका बलराज र भक्तबहादुरसहित कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइदिएको छ । पछिल्लो समय धरानमा प्रतिबन्धित औषधि बरामद भइरहेको घटना सार्वजनिक भएका छन् । धरान १५ को एक औषधि पसलका सञ्चालकलाई प्रतिबन्धित औषधि बिक्रीवितरण गरेको आरोपमा पक्राउ परेका थिए । 

इप्रका धरानका अनुसार टिडोल ५० लेखिएको औषधि बलराजको कोठामा कार्टुनमा प्याक गरी राखेको अवस्थामा ४१२ क्याप्सुल बरामद भएको छ भने भक्तबहादुरको साथबाट २० क्याप्सुल बरामद भएको थियो । उनीहरुलाई प्रहरीले फागुन १७ गते पक्राउ गरेको हो । उनीहरुलाई थप कारबाहीको लागि औषधि व्यवस्था विभाग प्रदेश १ को कार्यालय विराटनगर पठाइएको छ । 

त्यस्तै धरान ११ बाट एक युवती लागूऔषधसहित पक्राउ परेकी छन् । २१ वर्षीय कामना तामाङ पक्राउ परेकी हुन् । कोठामा सञ्चय गरी राखेको अवस्थामा लेबल नखुलेको ९ एम्पुल र १० लेखिएको सेतो ट्याब्लेट १४ थान बरामद गरिएको छ । उनलाई पनि फागुन १७ गते नै पक्राउ गरिएको हो । उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।