प्रदेश नम्बर २ को सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ ।
कोभिड–१९को दोस्रो लहर बढेपछि आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत गरी प्रदेश भित्रका निजी अस्पताललाई सरकारको मापदण्डबमोजिम सम्झौता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिनेसमेत निर्णय गरेको छ ।
प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्न लगाउनसमेत निर्णय गरेको छ ।