ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका भित्र सोमबार साँझ ६ बजेबाट ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सदरमुकाम फुङलिङमा तिब्र गतिमा कोरोना संक्रमित थपिनुका साथै मृत्युसमेत हुन थालेपछि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पाण्डेले बताए । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका काममा बाहिर निस्कन पाईने छैन ।
१० बर्ष भन्दा कम उमेरका र ६० बर्ष भन्दा माथिको उमेर समूहका कुनै पनि व्यक्ति निशेधाज्ञा अवधिभर घर बाहिर निस्कन नपाउने बताईएको छ । यस्तै अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने, सरकारी कार्यालय, बैङ्क तथा वित्तिय संस्था, विमा एवम राष्ट्र बैङ्बाट स्विकृत प्राप्त सहकारी संस्थाले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नुपर्ने आदेशमा उल्लेख छ ।
यसैविच प्रजिअ पाण्डेले कोरोना मिल्दोजुल्दो लक्षण देखिएर पनि परीक्षण तथा उपचारको पहुँचमा नजाने, स्वाब दिएका र शंकास्पद व्यक्ति क्वारेन्टिनमा नबसी हिड्डुल गर्ने र अत्यावश्यक काम बाहेक घर बाहिर निस्कनेलाइ संक्रामक रोग निवारण ऐन अनुसार कारवाही गर्ने बताए ।

संक्रामक रोग नियन्त्रण ऐन अनुसार अटेर गर्नेलाई ६ महिना कैद वा ६ सय रुपैंया जरीवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।
यता जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सम्पूर्ण शिक्षण संस्थाका परिक्षा लगायतका गतिविधी रोक्ने, जिल्ला अस्पतालमा आवश्यक मेडिकल अधिकृत २ जना, प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा पारामेडिक्स/नर्सिङ स्टाफ ३–३ जना माग गर्ने र भेन्टिलेटर, विप्याप मेसिन र पिसिआर ल्याब सेटअपका लागि सिसिएमसी र प्रदेश मन्त्रालयसँग २ करोड माग गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङबाट थप १ सय ६३ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पठाईएको छ । पाथिभरा बहुमुखी क्याम्पस टोलमा संकलित १ सय ४१ जना र अस्पतालमा संकलित २२ जनाको स्वाब परिक्षणका लागि पठाईएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिईन् । हाल जिल्लामा २० जना सक्रिय संक्रमित रहेका छन् ।