मोरङमा आइतबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन भएको खुलेको हो ।
पोस्मार्टममा राखिएको शव मृतकका बाबु धनबहादुर सोरेन छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
‘शव भेटिएको महिलाको दुई दिनपछि पहिचान भएको छ,’ डिएसी राईले भने, ‘घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।’

महिलाको शरिरमा चोटपटक लागेको र बलत्कारपछि हत्या गरेको प्रहरीको आशंका छ ।
‘अहिले अनुसन्धान गर्दै आएका छौ,’ डिएसपी राईले भने, ‘पोस्मार्टम रिपोर्टपछि थप विषय खुल्नेछ ।’
घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको थियो । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको डिएसपी राईले बताए ।
यस सम्बन्धी थप अनुसन्धान गरिरहेको उनले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय सिजुवासहित मोरङ प्रहरीका सादा पोशाकका प्रहरी टोली परिचालन गरेर सुक्ष्म रूपमा अनुसन्धना सुरू गरिएको छ ।
मृत अवस्थामा भेटिएकी सरिता कानेपोखरी–२ स्थित योगेन्द्र थापाको गाई फार्ममा काम गर्दै आएकी थिइन् ।
शनिबार बिहान विवाहमा जान्छु भनेर फर्मबाट हिंडेकी थिइन् । विवाहमा जान्छु भनेर हिंडेकी सरिताको भोलिपल्ट मकैबारीमा अर्धनग्न अवस्थामा शव भेटिएको थियो । रामप्रसाद भण्डारीको मकैबारीमा आइतबार बिहान ९ बजे शव फेला परेको हो । घाँस काट्न गएको बेलामा महिलाको लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सरिता विवाहित हुन् । उनको श्रीमान्को मृत्यु भइसकेको छ । उनको १८ वर्षीय एक छोरा छन् ।