सिरहा जिल्लाको कल्याणपुर– ११ मा डिजे–बाजा बन्द गराउन पुगेका प्रहरी कुटिएका छन् ।
प्रतिबन्धित डिजे बाजा सम्बन्धी नियम पालना गराउने क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादव र प्रहरी जवान भोगेन्द्र यादवमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डीएसपी) शालिग्राम शर्माले बताए ।
डीएसपी शर्माका अनुसार ४–५ जना प्रहरी ड्युटीमा खटिएका बेला चर्को आवाजमा डिजे बजेको देख्दा नबजाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको हो ।
जिल्लामा कोभिड–१९ को बढ्दो कहरका कारण २५ जनाभन्दा भेला नहुन तथा भीडभाड नगर्न डीसीसीएमसीले आदेश जारी गरे पनि झण्डै १ सय बढीको सङ्ख्यामा उपस्थित भएर नाचिरहेका बेला प्रहरीले कानून कार्यान्वयन गराउन खोजेका थिए ।

कुटपिट तथा दुव्र्यवहार गरेका कल्याणपुर नगरपालिका–११ बस्ने २२ वर्षीय दिपेन्द्र ठाकुर र कल्याणपुरकै २८ वर्षीय भोगेन्द्र यादवलाई नियन्त्रणमा लिई अभ्रद व्यवहारको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।
डिजेसहित सवारी इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको छ । चर्को स्वरमा बजाइने डिजेबाजामाथि जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्ण प्रतिबन्ध लगाएको छ । जेष्ठ नागरिक, बिरामी, विद्यार्थी र सर्वसाधारणको स्वास्थ्य हितलाई ध्यानमा राखी डिजे बाजालगायतका चर्को स्वरमा बजाउने बाजामाथि पूर्ण प्रतिबन्ध लगाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।