धरान । रेमडिसिभर औषधि भन्दै अर्कै औषधि बिक्री गरेको आरोपमा दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार विराटनगर ४ बाट साथी मेडिकलका सञ्चालक २६ बर्षीय सोनु आलम पक्राउ परेका हुन् । उनका सहयोगी विराटनगर १६ का २३ वर्षीय श्रवण यादव पनि पक्राउ परेका छन् ।
९० रुपैयाँ मूल्य पर्ने स्टासेफ नामक इन्जेक्सनमा रेमडिसिभर औषधिको नक्कली स्टिकर टाँसेर महँगो मूल्यमा बिक्री गरेको आरोपमा उनीहरू पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता एमव् डिएसपी मानबहादुर राईले जानकारी दिए । उनीहरूले ८ हजार रुपैयाँसम्म रेमडिसिभरको औषधि भन्दै बिक्री गरेका थिए ।
प्रहरीले ४ बट्टा (सिसी) र रेमडिसिभर नामक १ बट्टा (सिसी) बरामद गरेको छ । रेमडिसिभरको स्टिकर भारतको पटनाबाट आयात गरेको खुलेको छ । उनीहरूलाई कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ कसुरअनुसार कारबाही गरिने जनाइएको छ । यादवलाई लागूऔषध कारोबारी रहेको खुलेको छ । २०७७ कात्तिक २५ गते विराटनगर ११ को एक होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको थियो । उक्त ब्राउन सुगर यादवको रहेको खुलेपछि उनी फरार रहेका थिए ।

यता रेमडिसिभर औषधि बिक्री गर्नेमा उनको पनि संलग्नता पाइएपछि वैशाख २४ गते घरबाटै पक्राउ गरिएको हो । उनलाई दुईवटा मुद्दामा कारबाही अगाडि बढाइने भएको छ ।