धरान । घरमा पटक पटक आइजाइ गरेका व्यक्तिले नै योजना बनाई धारिलो हतियार प्रहार गरी लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

घटना घटाउने मुख्य व्यक्ति सन्तोष भनिने वीरबहादुर परियारले नै धरान १५ पूर्वेलीपथकी ८४ वर्षीया गोविन्दमाया विश्वकर्मालाई धारिलो हतियार प्रहार गरी लुटपाट गरेको खुलेको हो । सन्तोष सामान्य मिस्त्री काम गर्ने व्यक्ति हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार गोविन्दमायाको घरमा गई एकदुई पल्ट खाट बनाइदिएको र बेला बेला सरसापट पैसा पनि चलाउने गरेका थिए । प्रहरीले १५ दिन लामो अनुसन्धानबाट घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये वीरबहादुर गोविन्दमायाको घरमा आउजाउ गर्दै आएका थिए । डिएसपी बस्नेत भन्छन्, ‘कहिलेकाही घरमा आइजाई भएको देखिन्छ । तर, नाता सम्बन्ध केही खुलेन ।’

३८ वर्षीय सन्तोषको घर मोरङ पथरी शनिश्चरे नगरपालिका ३ भए पनि धरान–१५ सुनगाभा मार्गमा बस्दै आएका थिए । गोविन्दमायाको घर र सन्तोषको घर करिब ७ सय मिटर दूरीमा पर्छ । उनलाई साथ दिने पथरीशनिश्चरे नपा ५ घर भई धरान १० पुतलीलाइन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाटकी २९ वर्षीया लक्ष्मी लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोनीले लक्ष्मीलाई बहिनी भन्दै आएको प्रहरीले जनाएको छ । लुटपाट गरिएका सुनलगायतका सामग्री लक्ष्मीको घरमा राखिएको अवस्थामा फेला परेको थियो । सोनीले प्रहरीलाई बहिनीको घरमा सुनलगायतका सामग्री राख्न दिएको बयान दिएका थिए । 

सोही बयानका आधारमा प्रहरीले लक्ष्मीको घरमा खानतलासी गरेको थियो । घटना वैशाख ११ गते भएको थियो । घटनामा गम्भीर घाइते बनेकी गोविन्दमायाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा वैशाख १९ गते निधन भएको थियो । उनीहरू विरुद्ध प्रहरीले डाँका र कर्तव्य ज्यान मुद्दा चलाएको छ । जोहन विश्वकर्मा र बुहारी झरना विश्वकर्मा पूजाका लागि मन्दिर गएको अवस्थामा सन्तोषले गोविन्दमायाको टाउकोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी घाइते बनाई नगद २ लाखसहित नौगेडी, चुरा, सिक्री, जन्तरलगायतका गहना लुटपाट गरी लगेका थिए । कुल ११ लाख ४० हजार ९ सय ५० रुपैयाँ बराबरको धनमाल डाँका गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको छ । २०७७ माघ २९ गते धरान–६ पानबारीमा ७५ वर्षीया जयमाया लिम्बूलाई पनि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाई लुटपाट गरेका थिए । उक्त घटनामा संलग्नलाई प्रहरीले पहिचान गरिसकेको भए पनि हाल फरार रहेकाले उनको नाममा वारेन्ट जारी गरिएको छ । घटनामा संलग्न आरोपित भारत भागेको स्थानीयवासी बताउँछन् । उनी सप्तरी जिल्लाका हुन् । त्यस समयमा कानमा लगाएको र सिक्री गरी करिब दुई तोला सुन लुटपाट गरेको थियो ।