भण्टाबारी । भारतसँग खुल्ला सीमानाकाका कारण संबेदनसिल मानिएको कोशी क्षेत्रमा अन्य क्षेत्रको तुलनामा संक्रमितको संख्या कम देखिएको छ ।
पछिल्लो समय नयाँ भेरिएण्टको कोरोना संक्रमितको संख्या बढिरहेका बेला कोशी गाउँपालीका क्षेत्रमा ११० जनाको परीक्षण गरिएकोमा १८ जनामा रिपोर्ट पोजेटिभ पाइएका थिए ।
जसमध्ये ८ जनाले कोरोना जितेका छन् भने बाँकी १० जना संक्रमित होम आइसोलेशनमा छन् भने चारजनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । कोशी गाउँपालीकाले १ सयजनाको एन्टिजेन र १० जनाको पीसिआर बिधिबाट कोरोना परिक्षण गरेको गाउँपालीकाका स्वास्थ्य संयोजक जमिल अख्तरले जानकारी दिए ।
यसैबीच कोशी गाउँपालीकामा अन्य क्षेत्रको तुलनामा परीक्षण कम भएको गुनासो आएपछि सोमबार गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीसहितका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीलगायतको बैठकले वडा वडामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

ग्रामीण भेगका सर्वसाधारण कोरोना संक्रमित भएर पनि कोरोना परिक्षण गराउनेको संख्या ज्यादै न्यून रहेको पाइएपछि कोशी गाउँपालीकाले आठओटै वडामा एउटा परिवारबाट एकजनाको दरले एण्टिजेन परीक्षण गर्ने निर्णय गरेको अध्यक्ष अन्सारीले जानकारी दिए ।
प्रत्येक वडाका एउटा परिवारबाट एकजना सदस्यको परीक्षणसँगै संक्रमित पाइएका र अन्यलाई आवश्यकताअनुसार औषधीसमेत वितरण गरिने उनको भनाइ छ ।
त्यसका लागि कोशी गाउँपालीकाले प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा, स्वास्थ्य शाखा प्रमुख सदस्यीय सचीव, वडा सदस्यहरु,महिला स्वयंसेविका र सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने गरी स्थानीयस्तरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि समिति गठन गरिनेछ ।
उक्त समितिले १० दिनभित्र आ आफ्नो वडामा परीक्षणसँगै औषधी वितरण गर्ने निर्णय गरिएको छ । कोशी गाउँपालीकाले प्रत्येक वडाका एउटा परिवारबाट एकजना सदस्यको परीक्षण गर्ने निर्णय कार्यान्वयन गराउन चुनौतीपूर्ण देखिएको छ ।
प्रत्येक वडा सेनिटाइज गर्नुका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क, सेनिटाइजरलगायत आवश्यक स्वास्थ्य सामाग्रीसमेत वडा वडामा वितरण गरिने निर्णय भएको स्वास्थ्य संयोजक जमिल अख्तरले बताए ।
समुदायस्तरमा कोरोना फैलिन न दिनका लागि पहिलोचरणमा मृतक व्यक्तिका आफन्त र छरछिमेकीको एण्टिजेन बिधिमार्फत कोरोना परिक्षा गर्दै आएको बताउदै कोशी गाउँपालीकाका अध्यक्ष अन्सारीले आवश्यकता र अवस्था हेरेर एण्टिजेनसँगै पीसिआर परिक्षणको दायरा बढाउदै लगिएको दाबी गरे ।