धरान । इटहरीमा सञ्चालन हुन लागेको आइसोलेसनलाई इटहरी २० स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले तीन महिनासम्म दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने सहमति भएको छ ।
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संस्थाको साझेदारीमा आइसोलेसन सञ्चालन हुन लागेको छ । उक्त आइसोलेसनमा रहेका बिरामीहरुका लागि कामधेनुले निःशुल्क रुपमा तीन महिनासम्म दूध तथा दुग्धजन्य पदार्थ दिने सहमति भएको हो । संस्थाका निमित्त व्यवस्था निर्देशक पर्शुराम कार्की (मनोज) सहितको टोली र कोभिड व्यवस्थापन समितिका सदस्य एवम् नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त आइसालेसनमा उवासंघको नेतृत्वमा मारवाडी सेवा समिति, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा ८० बेड क्षमताको आइसोलेसन सञ्चालन हुन लागेको छ । जसमा ४० बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । निमित्त व्यवस्था निर्देशक कार्कीले आइसोलेसनलाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
त्यस्तै इटहरीकै तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एकमहिना दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने प्रतिवद्धता गरेको छ । आइसोलेसन सञ्चालन तथा मूल व्यवस्थापन समिति संयोजक भीम पौडेलसँग उद्योगका अध्यक्ष प्रदीप अधिकारीले सम्झौता गरेका छन् । सुरक्षा प्रबन्धलगायत मिलाए पनि सञ्चालनमा ल्याउनका लागि केही कठिनाइ भइरहेको संयोजक पौडेलले बताए ।

आइसोलेसनमा खाने, बस्ने, इन्टरनेट सेवा र योगाको पनि प्रबन्ध मिलाउने प्रयास गरिएको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष एवम् मूल व्यवस्थापन समितिका सदस्य मुकेश अग्रवालले बताए ।