धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मर्मतपछि अक्सिजन प्लान्ट पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्णरुपमा सञ्चालनमा आएको जनाए । प्रतिष्ठानमा अक्सिजनको दुईवटा युनिट सञ्चालनमा छन् । त्यसमध्ये एउटा युनिट लामो समयदेखि बिग्रिँदै आएको अवस्था थियो भने एउटा सञ्चालनमा थियो । त्यो पनि बुधबारदेखि समस्या आएको थियो । मर्मतका लागि काठमाडौंदेखि प्राविधिकहरू आएका थिए ।
दुवै युनिटबाट प्रतिमिनेट १६ लिटर अक्सिजन उत्पादन हुँदै आएको थियो । बिग्रिएको समयमा प्रतिमिनेट अढाइ लिटर मात्रै उत्पादन हुँदै आएको थियो । जसका कारण प्रतिष्ठानले कोरोनाबाट संक्रमण भएका बिरामीलाई भर्ना लिन कम गरेको थियो । प्रतिष्ठानले एकखाल्को चिकित्सकहरूलाई कोभिडका बिरामी भर्ना नलिनू भन्ने मौखिक सर्कुलर जारी गरिएको थियो ।
प्रतिष्ठानमा सय बेड क्षमताको कोभिड अस्पताल रहेको छ । पूर्वको रेफरल सेन्टरको रूपमा परिचित प्रतिष्ठानको कोभिड अस्पतालमा १५ वटा आइसियु र २५ वटा एचडियु बेडसहित सय बेड रहेका थिए । कोभिडका बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने भए पनि उत्पादन शून्यको अवस्था आउँदा प्रतिष्ठानले सिलिन्डर जोहोमा लागेको थियो ।

महामारीको अप्ठ्यारो परिस्थितिमा प्राविधिक कठिनाइका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति अस्पताल निर्देशक साहले विज्ञप्तिमार्फत् दुःख व्यक्त गरेका छन् । उनले प्रतिष्ठान बिरामीको उपचारमा सदैव कटिबद्ध रहेको पनि जनाएका छन् ।