धरान । धरान १३ स्थित गोर्खा वेलफेयर ट्रष्टको पूर्व क्षेत्रीय कार्यालयले धरानको स्वास्थ्य चौकी र हरियाली सामुदायिक वनस्थित आइसोलेसनलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
वेलफेयरका क्याप्टेन पूर्णप्रसाद लिम्बूको नेतृत्वमा पुगेको टोलीले दुई स्थानमा स्वास्थ्यलगायतका विभिन्न सामग्री मंगलबार प्रदान गरेको हो । स्वास्थ्य चौकीलाई महामारीका बेला चाहिने अतिआवश्यकीय सामग्री वितरण गरेको धरान उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ), ह्यान्डवास, मास्क, गमबुट, हातधुने मेसिन, थर्मल गनलगायतका करिब २५ प्रकारका सामग्री वितरण गरेको हो ।
त्यस्तै हरियालीस्थित संस्थागत आइसोलेसनका लागि पनि त्यस्तै सामग्री धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरिएको थियो । धरान उपमहानगरले आइसोलेसनमा बस्नेहरुलाई उक्त सामग्री प्रदान गर्ने भएको छ । हाल संस्थागत आइसोलेसनमा संक्रमितहरु बसिरहेका छन् ।