धरान । पूर्वका रेडियोका हस्ती चन्द्र न्यौपानेको उपचारको क्रममा आज (शुक्रबार) बिहान ८ः२५ बजे निधन भएको छ ।
उनी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएयता ९ दिन होम आइसोलेसनमा बसेका थिए भने गम्भीर बनेपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत थिए । उनको दुईपटक प्लाज्मा थेरापी पनि गरिएको थियो ।
पछिल्लो पाँच दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । २०५८ सालदेखि सप्तकोशी एफएममा कार्यरत उनी पछिल्लो समय रेडियोको निर्देशक एवम् व्यवस्थापकको जिम्मेवारीमा रहेका थिए ।
जानकारका अनुसार मार्केटिङ अफिसरबाट रेडियोमा सुरु गरेयता उनी २०६२ सालदेखि स्टेसन मेनेजरका रूपमा कार्यरत थिए । २०६४ यता भने सप्तकोशी एफएमका सेयर सदस्य समेत रहेका थिए ।

इटहरी ४ शान्तिटोल निवासी उनको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । श्रीमतीलाई पनि कोरोना संक्रमण भएको थियो । तर, उनी हाल ठीक भइसकेकी छन् । उनलाई वैशाखको २८ गते एन्टिजेनमार्फत जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सञ्चारकर्मी तथा उनका समकक्षी अर्जुन उप्रेतीका अनुसार राजनीतिक जीवनसँगै सञ्चारकर्ममा पनि उत्तिकै सक्रिय रहेका थिए । केपी शर्मा ओली सरकारले गठन गरेको विज्ञापन बोर्डको सदस्यमा पनि मनोनित भएका थिए । ‘हामी पाँच वर्ष सँगै काम गर्यौं, उहाँको राम्रो कुरा भनेको कहिल्यै नरिसाउने, शालीन, कन्भिसिङ क्यापिसिटी, लिडरसीप क्वालिटी राम्रो थियो’ उनले भने ।
राजनीतिक जीवनमा भने उनी महेन्द्र क्याम्पसको अखिलको सचिव हुँदै नेकपा एमालेको प्रचार विभाग सदस्य रहेका थिए ।
सप्तकोशी एफएम २०५७ असोज २९ गते स्थापना भएको थियो । एफएमको स्थापना गोपाल गुरागाईं, कृष्ण दाहाल, प्रदीप नेपाल, विष्णुहरि ढकाल, अनुप नेपाल, प्रदीप कार्की, नारायण उप्रेतीले गरेका थिए ।