पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरेको नगर अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा सञ्चालित आइसोलेसन वार्डका लागि ३ वटा अत्याधुनिकसहित हालसम्म २१ वटा अक्सिजन सिलिण्डर सहयोग उपलब्ध भएको छ ।
हालसम्म, १८ वटा नर्मल अक्सिजन सिलिण्डर र ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएको छ । पछिल्लो पटक शुक्रबार पथरी शनिश्चरे युएइ समाजले आज ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
समाजका मोहन गौतम, तीर्थ आचार्य सहितका समाजका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखाका प्रमुख (जनस्वास्थ्य निरीक्षक) मुरारी आचार्य सहितलाई हस्तान्तरण गरेका छन् ।
सो समाजले ८६ हजार ८ सय रुपैयाँमा सिलिण्डर समेत खरिद गरी अक्सिजन भरेर उपलब्ध गराएको हो ।

यस अघि, आइसोलेसनका लागि पथरीशनिश्चरे १ को शिव वस्त्रालयका खगेन्द्र भट्टराईबाट २ वटा र युवा समाजसेवी भूपाल श्रेष्ठ सहित आवद्ध बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटबाट ३ वटा खाली सिलिण्डर उपलब्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालयले ५ वटा सिलिण्डर उपलब्ध गराएको छ । १ नम्बर वडाको चापागाईं मेडिकल हलका हेमसागर चापागाईंबाट भरेको २ थान अक्सिजन सिलिण्डर खरिद गरेर प्रदान भएको छ ।
पथरीशनिश्चरे घर भएका अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्कसहितका १५ लाख बढी रुपैयाँका सामग्री प्रदान भएको छ ।
पथरी काठमाडौं मैत्री समाजको पहलमा सामग्री जुटाएर नगरलाई हस्तान्तरण गरिएको छ । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति फाउण्डेशन्ले ४५ थान पीपीइ सेट, २० थान अक्सिमिटर, १५० थान एन नाइन्टीफाइभ मास्क, १ हजार थान सर्जिकल मास्क तथा हेडसिल्ड, बुट, सोडियम हाइपोक्लोराइड, सेनिटाइजर र ग्लोब उपलब्ध गराएको छ ।
कोरोना संक्रमितको उपचारमा आवश्यक सामग्री खरिदका लागि पथरी बजारस्थित मंगल ड्रेसेजका सञ्चालक मदन/ मनोज अग्रवालबाट नगद २० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि केही स्वास्थ्य सामग्री उपलब्ध भएको छ । हेफर इन्टरनेशनल मोरङमार्फत ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
नगरमा रहेका अक्सिजनका सिलिण्डरलाई यो बेला कोरोना संक्रमितका लागि उपयोग गर्नका लागि उपलब्ध गराउन नगर उपप्रमुख वास्तोलाले आव्हान समेत गरेकी छन् । नगरमा हाल १५ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा छ ।