उर्लाबारी/कोभिड संक्रमणले उर्लाबारी–२ मा बाबु–छोराको पा“च दिनको अन्तरमा निधन भएको छ । यो निधनसँगै नगरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
२०५४ सालदेखि २०५८ सालसम्म उर्लाबारी गाविसका उपाध्यक्ष समेत रहेका उर्लाबारी–२ निवासी कुमार धिमालको जेठ १२ गते कोभिडको संक्रमणका कारण बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने जेठ १७ गते उनका जेठा छोरा तेजबहादुर धिमालको पनि सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमालका अनुसार जेठो छोरा तेजबहादुरमा कोभिडको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । छोरा भर्ना भएको एक सातापछि सोही लक्षण बाबु कुमार धिमालमा समेत देखिएपछि सोही अस्पतालमा बाबु–छोरालाई भर्ना गरिएको थियो । जेठ १२ गते बाबु र १७ गते छोराको निधन भएको हो ।
धिमाल संस्कृतिअनुसार बाबुको दाहसंस्काार भएको स्थल स्थानीय सालबारी वन क्षेत्रमै छोराको पनि अन्त्येष्टि गरिने तयारी भइरहेको केन्द्रका महासचिव मात्रिका धिमालले बताए । ४७ वर्षीय तेजबहादुर स्थानीय उर्लाबारी–२ का व्यवसायी हुन् । नगर प्रमुख खड्ग फागोले कोभिडको संक्रमण रोक्न नगरपालिका तहबाट सबै किसिमका प्रयास जारी राखेको बताए ।