तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

आठराई गाउँपालिका ६ वडाका वडासदस्य तेजबिक्रम कन्दङ्वालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङ्वाले दोस्रो श्रीमती घरमा ल्याएपछि उनको पहिलो श्रीमती विष्णु कन्दङ्वाले प्रहरीमा जाहेरी दिएको आधारमा पक्राउ गरिएको हो । 

कन्दङ्वाले गत शनिबार दोस्रो विवाह गरेका थिए । उनले हरिकला आचार्यलाई दोस्रो श्रीमतीको रुपमा घरमा भित्र्याएका थिए । वडा सदस्य कन्दङ्वाको पहिलोपट्टिको ३ छोरी र १ छोरा छन् । हरिकलाको पनि २ छोरा छन् । 

कन्दङ्वालाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कोमल ठाकुरले जानकारी दिए । पक्राउ परेका वडासदस्य कन्दङ्वा र हरिकलालाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७५ (१) मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा अर्को विवाह गर्न नहुने उल्लेख । यदि गरेको पाइएमा उपदफा ४ अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । 

सहयोगः प्रकाश पाक्सावा