धरान । सुस्त मनस्थितिकी ५६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मंगलबार धरान प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

धरान ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थापालाई पक्राउ गरेलगत्तै जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ । 

त्यस्तै एक महिनाअघि पैदल यात्रीलाई ठक्कर दिई फरार रहेका अभियुक्तलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । सवारी ज्यान मुद्दामा फरार रहेका इलाम देउमाई नगरपालिका ३ रक्से घर भई हाल धरान १५ बस्दै आएका मिङ्मा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

उनले गत वैशाख २० गते धरान ८ स्थित कोशी राजमार्गमा पैदलयात्री सहलमान राईलाई ठक्कर दिई फरार रहेका थिए । शेर्पाले चलाएको मे ७ प ५९९१ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिई फरार रहेका थिए । मोटरसाइकलसहित पक्राउ परेका उनलाई बुधबार सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।