स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गरेका हुन् । 

उनले खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ति सिलिण्डर उपलब्ध गराउनु अनुरोध गरेका हुन् । 

‘उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिण्डर विभिन्न कारणले देशमा विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन’ उनले सूचनामा भनेका छन्, ‘ती सिलिण्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठयारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति संस्था वा निकायले जुनसुकै वहानामा लगेको अक्सिजन सिलिण्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

उनले अस्पताललाई पनि अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा टङ्याक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्णक्षमतामा अक्सिजन सञ्चालनसमेत गर्न अनुरोध गरेका छन् । 

सहप्रवक्ता डा. अधिकारीले सङ्ख्यात्मकरुपमा सङ्क्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायमै रहेको उल्लेख गरे । अहिलेसम्म नेपालमा पाँच लाख ९१ हजार ४९४ सङ्क्रमण, चार लाख ९७ हजार ९६०  निको र सात हजार ९९० सङ्क्रमणबाट मृत्यु भइसकेका छन् ।