धरान/अनुदानमा प्राप्त चिनियाँ खोप भेरोसेल मङ्गलबारबाट धरानमा लगाउन सुरु गरिएको छ ।
सरकारको प्राथमिकतामा रहेका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार दुई हजार १ सय ८० डोज खोप प्राप्त भएको छ । उमेर समूहको प्राथमिकताको आधारमा लगाइरहेको उनले जानकारी दिए । जेठ २७ गतेसम्म खोप जारी रहनेछ । चीन सरकारले १० लाख खोप अनुदानमा दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी चीनका राष्ट्रपति सी जिन पिङसँग वान–टु–वान टेलिफोन वार्ता पछि चीनले १० लाख डोज खोप अनुदानमा दिने प्रतिवद्धता जनाएको थियो ।
सोही प्रतिवद्धताअनुसार ८ लाख डोज खोप प्राप्त भइसकेको छ । अझै दुई लाख खोप आउने क्रममा छ । चीन सरकारले यसअघि पनि ८ लाख खोप अनुदानमा दिएको थियो । सरकारले सबै प्रदेशमा जनसङ्ख्याको आधारमा खोप वितरण गरेको थियो । सोहीअनुसार धरानमा पनि खोप वितरण गरिएको हो । धरान–१ स्थित स्वास्थ्य चौकीमा खोप लगाउन थालिएको छ । यसपटक विगतको भन्दा उल्लेख्य सङ्ख्यामा खोप लगाउन आएको मेहताले जानकारी दिए । मेहताका अनुसार पहिलो दिन ३ सय ८६ जनालाई खोप लगाइएको छ ।
गत फागुनमा अङ्ग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारी र पत्रकारलाई खोप लगाइएको थियो । त्यसबेला खोप लगाउनेको सङ्ख्या एकदमै न्यून रहेको थियो । ‘त्यो बेला डरत्रासका कारण खोप लगाउनेको सङ्ख्या कम थियो,’ मेहताले भने, ‘यसपटक भने उल्लेख्य सङ्ख्यामा उपस्थित भएका छन् ।’ खोप लगाउनुपूर्व धरान उपमहानगरका नगर प्रमुख तिलक राईलगायतले स्वास्थ्य चौकीको स्थलगत अनुगमन गरेको थियो ।

धरान उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग खोप खरिदका लागि स्वीकृतिसमेत माग गरेको थियो । एक लाख डोज खोपका लागि स्वीकृति माग गरे पनि हालसम्म स्वीकृत भइसकेको छैन । २०६८ को जनगणनाअनुसार धरानमा एक लाख ३७ हजार ७०५ जनसङ्ख्या रहेको छ ।