भण्टाबारी। सिल रहेको नाकाबाट तीनवटा नेपाली नम्बर प्लेटको गाडीमा तस्करी गरी भारत पु¥याइएको चाइनिज स्याउ भारतीय प्रहरीले बरामद गरेपछि सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न उठेको छ । 

१ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ बोकेर तीनवटा नेपाली गाडी सजिलैसँग भारतीय भूमिसम्म  पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि प्रश्न उठेको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारतबीच रहेको खुल्ला सीमानाका सिल रहेको अवस्थामा स्याउ तस्करी हुनुले गम्भीर प्रश्न उब्जाएको हो । यस्तो विषम परिस्थितिमा ज्यानको परवाह नगरी सीमामा तैनाथ सयौं सुरक्षाकर्मीको मनोबल घटाएको सुरक्षा स्रोत बताउँछ ।

छोटो समयमा तराईका सीमावर्ती क्षेत्रमा चोरीपैठारी जस्ता गतिविधि गरी अकुत सम्पत्ति आर्जन गर्न सकिने भन्दै सङ्गठनका योग्य र क्षमतावान प्रहरी अधिकारीलाई भन्दा राजनीतिक पहुँचका भरमा पठाइने गरेका आरोपसमेत लागेको छ । 

के गर्दैछ छानबिन टोली ?
साताअघि भारतीय प्रहरीले तीनवटा नेपाली नम्बरको गाडीबाट भारी परिमाणमा चाइनिज स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली बनाएको छ ।

सिल नाकाबाट भारतीय भूमिमा तीनवटा ट्रकमा लोड गरेर चाइनिज स्याउ तस्करी गरी पु¥याइएपछि सर्वत्र चर्चाको विषय बनेको पछिल्लो घटनाबारे एसएसपी नेतृत्वमा दुवै सङ्गठनले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सङ्घीय प्रहरी इकाई कार्यालयका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ । गठित छानबिन टोलीमा एकजना डिएसपी, इन्स्पेक्टर, सइलगायत छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको हो । १ हजार ३ सय ५० कार्टुन बोकेर तीनवटा नेपाली नम्बर प्लेटको ट्रक भारतीय भूमिमा कुन नाकाबाट छिराइयो भन्ने बारेअझै स्पष्ट नभएको छानबिन टोलीका संयोजक तथा नेपाल प्रहरीका एसएसपी राजेन्द्रप्रसाद चौधरीले बताए ।

चाइनिज स्याउ कसरी कुन नाकाबाट छिराइयो भन्ने स्पष्ट हुन नसकेको दाबी गर्दै उनले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘ट्रकमा स्याउ कुन नाकाहुँदै भारतीय भूमिसम्म पु¥याइयो भन्ने स्पष्ट भइसकेको छैन’ एसएसपी चौधरीले भने, ‘केही दिनमै सबै कुरा सार्वजनिक गर्छौं ।’ छानबिन टोलीलाई एक हप्ताको समय दिएकोमा अनुसन्धान लम्बिन सक्ने बताउँदै उनले भने, ‘अहिले कल डिटेल लिने काम भइरहेको छ । हामीले पाएको समय अवधिमा प्रतिवेदन बुझाउन नसकेको अवस्थामा केही दिन थपिन सक्छ ।’

घटनामा उच्चपदस्थ सुरक्षा अधिकृतको संलग्नता बारे जिज्ञासा राख्दा एसएसपी चौधरीले छानबिन भइरहेकोले क–कसको संलग्नता छ वा छैन भन्नेबारे तत्कालै केही भन्न नसकिने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको छानबिन टोलीले ड्युटी खटिएका सुरक्षाकर्मीका साथै कोशी क्षेत्रका वडाध्यक्षहरू र केही स्थानीयसँग समेत छुट्टाछुट्टै बयान लिएको छ ।

स्रोतका अनुसार कोशी गाउँपालिका–७ स्थित हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट वीरपुरसम्म स्याउ पु¥याइएको हो । तर, यसबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनुसन्धान भइरहेको बताउँदै कुन नाकाबाट स्याउ बोकेको ट्रक छिराइयो भन्नेबारे अनुसन्धानपश्चात् मात्र केही भन्न सकिने बताउने गरेका छन् ।

भारतमा तीनवटा नेपाली नम्बर प्लेटका गाडीबाट ठूलो परिमाणमा स्याउ बरामद भएपछि सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीसहितको टोलीलाई फिर्ता बोलाउनु र सीमा प्रहरी चौकी भण्टाबारीका इञ्चार्ज सइ गङ्गा थापालाई निलम्बनका लागि प्रदेश प्रहरीले केन्द्रमा सिफारिससँगै भण्टाबारी मातहत नै रहेका अस्थायी प्रहरी चौकी श्रीपुरका इञ्चार्ज असइ टेकबहादुर कार्की र कोशी कटान प्रहरीका असइ आशनारायण माझीलाई निलम्बन गरिनुले लाही नाकाबाटै तीनवटा ट्रकमा स्याउ तस्करी गराइएको अनुमान गरिएको छ ।