सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ प्रमुख मोहम्मद सदरुलसहित छ पत्रकारलाई पुरस्कृत एवं सम्मान गर्ने निर्णय गरेको छ । सहकारी संस्थाले राससका प्रदेश प्रमुख सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आचार्य, राजकुमारी तामाङ र एलिना दियालीलाई सहकारी संस्थाको दशौं स्थापना दिवस पारेर सम्मान गर्न लागेको हो ।
विसं २०७७ को मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट सदरुल र २०७८ सालको सोही पुरस्कार आचार्यलाई प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व सभापति दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित सो पुरस्कार मोरङ जिल्लामा कार्यक्षेत्र भएका उत्कृष्ट कार्य गर्ने एक श्रमजीवी पत्रकारलाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिन्छ । पुरस्कारको राशि रु २१ हजार रहेको छ ।
यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा रु ५० हजारको पुरस्कार स्थापना गरेको होे । यसैगरी मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियालीलाई प्रदान गर्ने निर्णय भएको छ । यी पुरस्कारको राशि नगद रु १० हजार रहेको छ ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले यी विभिन्न पुरस्कारको घोषणा गरेको हो । यी पुरस्कार संस्थाको दशौं स्थापना दिवसको अवसरमा यही असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।