मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । इटाली सन् २०१२ पछि युरो कपको फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो । जसमा पनि कुनै गोल हुन सकेन ।
खेलको अतिरिक्त समयमा इटालीका गोलकिपर डोनारुम्माले उत्कृष्ट आफ्नो टिमको संकट टारेका थिए ।
९८ मिनेटमा स्पेनका ओल्मोको प्रहारलाई उनले विफल पारेका थिए ।
११० मिनेटमा इटालीका बेरारीले बललाई जाली चुमाए पनि अफसाइड भएको थियो ।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इटालीले पहिले अग्रता लिएको थियो ।
इटालीका लागि फेडेरिको चिएसाले ६० मिनेटमा गोल गरेका थिए। उनले इमोबिलको पासमा गोल गरेका थिए ।
त्यसअघि इटालीका इमरसनको प्रहार बारमा लाग्दा टिमले अग्रता लिने अवसर गुमाएको थियो ।
खेलको ८० मिनेटमा स्पेनले बराबरी गोल फर्काउन सफल भयो । स्पेनका लागि अल्भारो मोराटाले बराबरी गोल गर्न सफल भए ।
मोराटालाई गोल गर्न ड्यानी ओल्मोले पास उपलब्ध गराएका थिए । मोराटा खेलको ६२ मिनेटमा फेरान टोरेशको स्थानमा मैदान छिरेका थिए ।
स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार आकासिएको थियो । यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए ।
पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे ।
यस्तै स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो ।
अब उपाधिका लागि इटालीले डेनमार्क वा इंग्ल्यान्ड मध्ये एक टिमसँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।
इटालीको कीर्तिमान
जितसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३३ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो । यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो ।
युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पु¥याएको थियो । जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो ।
अन्तिम १६ मा अस्ट्रियलाई हराएपछि इटालीले नयाँ रेकर्ड बनाएको थियो। जुन रेकर्ड क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा स्पेनलाई हराएसँगै भंग भयो ।
अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३३ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन ।
१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १–० गोलले पराजित भएपछि इटालीले २८ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ ।
यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ। इटालीले सन् २०२१ मा ११ खेल खेलेको छ। इटालीले ती खेलमा २९ गोल गरिसकेको छ ।अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ । दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्।
लगातार ३३ खेलमा अपराजित इटाली दोस्रो स्थानमा अब इटाली छ ।