प्रदेश १ को नामाकरणका सन्दर्भमा मुख्यमन्त्री शेरधन राईले पहलकदमी लिने भएका छन् । मुख्यमन्त्री राईले अबको केही दिनमै प्रदेश सभामा प्रदेशको नामका बारेमा छलफल सुरु गरिने बताए ।
उनले बजेट लगत्तै प्रदेशको नामाकरणका विषयमा छलफल सुरु गर्ने प्रतिबद्धता जनाएअनुरुप नामाकरणको विषय सदनमा छलफलमा लाने बताए ।
‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आफूले सुरुमा प्रदेश सभालाई सम्बोधन गर्दा र बजेट नीति तथा कार्यक्रमका बारेमा प्रश्नको जवाफ दिने क्रममा बजेट लगत्तै प्रदेशको नामका विषयमा छलफल सुरु हुने बताएको स्मरण गरे ।
प्रदेशको नाम पास गर्न भने दुइतिहाई मत आवश्यक पर्ने तर आफनो दलसँग दुईतिहाई नभएकाले कांग्रेस माओवादी लगायतका दलसँग छलफल गर्ने मुख्यमन्त्री राईले बताए ।

उनले भने ‘मेरो दलसँग दुईतिहाई छैन, त्यसो हुदाँ कांग्रेस, माओवादी केन्द्र अन्य दल सहमत हुँदा सर्वसम्मत हुन्छ, सर्वसम्मत नभए दुईतिहाईका लागि या त कांगेस सहमत हुनुपर्यो या माओवादी केन्द्र सहमत हुनुपर्यो, त्यसका लागि हामी छलफल गर्छौं, सकेसम्म सर्वसम्मत नभए दुईतिहाईका लागि संयोजन गर्ने कार्य म गर्छु ।’
बजेट कार्यान्वयनमा ढिला हुँदैन
मुख्यमन्त्री राईले आज (साउन १) देखि सुरु आर्थिक वर्षमा बजेट कार्यान्वयनमा ढिलाइ नगरिने बताएका छन् । उनले साउन भरिमा आवश्यक नीति निर्माण गरेर भदौदेखि कार्यावन्यन सुरु गरिने जानकारी दिए ।
बजेट कार्यावन्यनलाई सहजता प्रदान गर्न जिल्ला–जिल्लामा कार्यालयहरु स्थापना गरिने र त्यसका लागि गृहकार्य भइरहेको मुख्यमन्त्री राईले बताए । आफूले सुरुका वर्षहरुदेखि नै असारे विकास हुन नदिने भनेको तर कोरोनाका कारण विगतका वर्षहरुमा बजेट कार्यान्वयनमा केही असहजता आएको मुख्यमन्त्री राईले बताए ।
कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’ प्रदेश १ का सबै रेडियो र टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।