मोरङ / नेपालकै सुरक्षा निकायसँग थोरै संख्यामा रहेको सर्ट मेसिनगन (एसएमजी) देखाउँदै मोरङको सुुन्दरहरैंचामा सुन लुट्ने प्रयास गरिएको छ ।
तीन जनाको समूहले मोरङको सुन्दरहरैचा १० स्थित त्रिवेणी चौकबाट सुन पसल लुट्न खोजेको र पछि बन्दुक देखाउँदै भागेको भिडियो सिसिटिभी क्यामेरामा कैद भएको छ ।
सञ्चालक खगेन्द्र थापाका अनुसार उनकी श्रीमती बाहिर गएर चोर आयो भनेर चिच्याउन थालेपछि मानिसहरु जम्मा भएको र एउटा मोटरसाइकलमा बसेर भागेका थिए । उनीहरूले मोटरसाइकलको नम्बर प्लेट छोपेको बताइएको छ ।
शुक्रवार दिउँसो उक्त समूहले शिव पाञ्चायन ज्वेलर्समा हतियार देखाएर लुट्ने प्रयास गरेको थियो । उनीहरुले सुरुमा पेस्तोल देखाएका थिए भने पछि एसएमजी देखाएका थिए ।

पसल बाहिर हल्ला खल्ला हुन थालेपछि लुटेरा समूह बन्दुक देखाउँदै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ । एसएमजी माओवादीले द्वन्दको समयमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ ।