धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा एयरपोर्ट आवश्यक हो कि होइन भन्ने नबुझी नेताहरूले चलाएको चर्चा मात्र भएको बताएका छन् ।

देशमा भएका ५५ वटा एयरपोर्टमध्ये आधा एयरपोर्टमा जहाज नचलेर झार पलाएको भन्दै मन्त्री करातीले आवश्यकताका आधारमा मात्र एयरपोर्ट निर्माण गरिने बताए । शनिबार प्रेस सेन्टर सुनसरीले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय एयरपोर्ट भनेर बनाएका एयरपोर्ट नै चल्न समस्या भइरहेको छ । चलाउन सकिने आधार नभई लगानी गर्नुको कुनै अर्थ रहँदैन ।’

उनले विराटनगरको एयरपोर्ट फुलपेजमा चल्न थालेपछि र धरान–विराटनगर सडक राम्रो भएपछि पनि धरानलाई एयरपोर्ट आवश्यक पर्ने देखिएमा त्यसबेला योजना बनाउन सकिने तर, नेताहरूले आवश्यकता नबुझी चुनावमा ल्याएका योजनाले एयरपोर्ट नबन्ने बताए । उनले भने, ‘चुनाव आएपछि नेताहरू डाँडामा गएर एउटा आँखा चिम्लिएर त्यहाँ प्लेन आउँछ भन्दै फुईं लगाउँछन् रे भन्ने सुनेको छु । धरानमा एयरपोर्ट चाहिन्छ कि चाहिँदैन ? चल्छ कि चल्दैन ? भन्ने कुरा सरोकारवाला जनतालाई सोध्नुपर्छ ।’

उनले धरानको विकासका लागि धरानलाई केन्द्र बनाएर आसपासका पर्यटकीयस्थलहरूको विकास गरिनु आवश्यक रहेको बताए । उनले वराहक्षेत्र, चतरालाई स्टेशन बनाएर धार्मिक पर्यटनको विकास गर्नसके भारतीय धार्मिक पर्यटकहरू भिœयाउन सकिने र त्यसको फाइदा धरानले लिन सक्ने बताए । त्यस्तै भेडेटारदेखि तीनजुरे, मिल्केसम्मका पर्यटकीय क्षेत्रको विकास गर्न सकिने तथा सप्तकोसीमा जेटबोट र र्याफ्टिङलाई व्यवस्थित गरेर पर्यटनबाट फाइदा लिन सकिने बताए ।

शनिबार दिउँसो मन्त्री किरातीले धरान एक्स्पोको समापन कार्यक्रममा पनि प्रमुख अतिथिका रूपमा बोल्दै धरानको विकासको आधार पर्यटन हुनसक्ने बताए ।