वराहक्षेत्र । कोसी नदीमा डुबेर एक युवकको ज्यान गएको छ । बेलका नगरपालिकाको वडा नं. ६ बकुन्द्रे घर भएका १७ वर्षीय सुदीप विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गाईघाटका सूचना अधिकारी राकेशकुमार पोद्दारले बताएका छन् । विष्ट नगरपालिकाको वडा नं. ४ गुरुङचौरी बस्ने वर्ष १७ का साथी जनम गहतराजसँग नदीमा नुहाउन गएका थिए ।
बिहान करिब साढे १० बजे नदीमा मानिस डुबेको सूचना पाएर नपाको अस्थायी प्रहरी पोष्ट कोठु, इलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशको वराह वाहिनी मुख्यालय इटहरीबाट गएको गोताखोरको टोलीले खोजी गर्दा डुबेको स्थानबाट करिब सय मिटर तलतिर दिउँसो करिब ४ बजे विष्टको शव भेटिएको थियो ।
शवको प्रकृति मुचुल्का गरी पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय पलेँटी होटलका कर्मचारी विष्ट चतराघाट स्थित सप्तकोसी पुलनजिकै नदीमा डुबेका थिए ।